लिस्नु कप फुटबल : न्यू सिर्जना करौजियाद्वारा मुम्बई पराजित

प्रकाशित मिति:

टोपराज शर्मा\साउन, १२ बुटवल । भारतको पाहुना टिम दादर ११ मुम्बईलाई ट्राइब्रेकरमा स्तब्ध बनाउंदै रुपन्देहीको तिलोत्तमास्थित न्यू सिर्जना युवा क्लब १८ औं लिस्नुकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । रुपन्देहीको कोटिहवामा जारी पशुपति माविको मैदानमा बुधबार भएको खेलमा न्यू सिर्जनाले मुम्बईलाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पाखा लगाएको हो । ७० मिनेटको निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । ट्राइब्रेकरमा न्यू सिर्जनाका प्रवेश क्षेत्री,हिमाल थापा र दिपु थापाको प्रहार गोलमा परिणत भएको थियो । न्यू सिर्जनाकै विनोद रानाको प्रहार बाहिरियो भने नवीन थापाको प्रहारलाई विपक्षी गोलरक्षकले बताउ गरे । पाहुना टिम दादर ११ मुम्बईका चुरामणि र विक्कल गुरुङले आफ्नो प्रहारलाई जाली चुमाउंदा बिज्जु गुरुङ र सुजनको प्रहारलाई न्यू सिर्जनाका गोल रक्षकले बचाउ गरिदिए भने दिपु गुरुङको प्रहार बाहिरिदा नतिजा घरेलु टिमको पक्षमा गयो । खेलमा न्यू सिर्जनाका गोल रक्षक हरि बुढा म्यान अफ द म्याच घोषित भए । अब साउन १४ गते सोमबार पहिलो क्वाटर फाइनल खेल आयोजक लिस्नु युवा क्लब कोटिहवा रुपन्देही र फर्साटिकर युवा क्लब फर्साटिकरबीच हुने खेल संयोजक बुद्धिप्रसाद गुरुङले जानकारी दिए । साउन २१ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतको एकसहित स्याङजा,चितवन,नवलपरासी,दाङ र रुपन्देहीका १६ टिमको सहभागिता रहेको छ ।