ठकुरी युवा समाजद्वारा अनाथलाई सहयोग प्रदान

प्रकाशित मिति:

हरिश ढकाल\ बुटवल, १२ साउन । दर्शन कल्याण ठकुरी युवा समाज, रुपन्देही जिल्ला समितिले देवदह बंगालीटोल स्थित मायादेवी अनाथालयमा खाद्यान्न तथा खेलकुद र स्टेशनरी सामाग्री प्रदान गरेको छ । समाजको पाँचौ स्थापना दिवशका अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्य सहित अनाथ बालबालीकाहरुलाई उक्त सामाग्रीहरु प्रदान गरिएको समाजका अध्यक्ष समुन्द्र सिंह ठकुरीले बताए ।
दर्शन कल्याण ठकुरी समाज, रुपन्देही जिल्ला अध्यक्ष राम बहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक अर्जुन प्रताप सेनले स्वागत मन्तब्य सहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । सो अवसरमा प्रमुख अतिथी चन्दले अनाथ बालबालीकाको पालनपोषण र शिक्षा दिक्षामा सहयोग पुगोस भन्ने उद्देश्यले सो कार्यक्रम गरिएको बताए ।
सो अवसरमा ठकुरी हेरिटेजको अध्यक्ष साथै दर्शन कल्याण ठकुरी युवा समाजका सदस्य हेमा सेन ठकुरी, ठकुरी समाजका देवदह क्षेत्रिय अध्यक्ष निलध्वज मल्ल लगाएतले समाजले बिगतदेखि सामाजिक क्षेत्रमा गर्दै आएको सहयोग र पुराएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको संचालन सचिव अशिम खाँणले गरेका थिए ।