हत्यारालाई सार्वजनिक गर्न तरुण दलले दियो २४ घण्टे अल्टिमेटम साथै राजमार्गमा चक्काजाम !

प्रकाशित मिति:

बुटवल – रुपन्देहीको देवदहका तरुण दलका कार्यकर्ता अनिश पुरीको हत्या विरोधमा स्थानीयले देवदह बजार बन्द गराएका छन् । दोषीलाई कारवाही माग गर्दै उनीहरुले देवदहको खैरेनी बजारमा यातायात तथा बजार बन्द गराएका हुन् । स्वतस्फूर्त रुपमा स्थानीयहरु सडकमा निस्किएर बजार बन्द गराएको स्थानीय केशव पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार ठूलो संख्यामा सर्वसाधारण, तरुण दलका कार्यकर्ता तथा राजनीतिक दलका कार्यकर्ता सडकमा निस्किएका छन् । उनीहरुले सुरक्षा निकायको लापरवाहीले ज्यान गएको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् ।आन्दोलनकारीले हत्यामा संलग्नहरु सार्वजनिक नगरेसम्म शवसमेत नबुझ्ने भन्दै नाराबाजी गरेका छन् । पुरीको शव अहिले पनि बुटवलको प्रदेशिक अस्पतालमा छ । अनिशको मृत्युको खवर पाउनासाथ बेहोस भएका वुवा लोमस पुरी र आमा सोभा पुरीको अहिले पनि बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचार भईरहेको छ ।

यता पुरीको हत्या गरिएको भन्दै नेपाल तरुण दल रुपन्देहीले सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराएको छ । तरुण दलले विज्ञप्ति प्रकाशित गरी दोषीलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गरेको छ । २४ घण्टाभित्र दोषीलाई पक्राउ गरि कारवाही नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत संगठनले दिएको छ । सांकेतिक रुपमा सोमबार २ घण्टा चक्काजामको तयारी गरेको तरुण दलले जनाएको छ । जिल्ला अध्यक्ष सोमवहादुर गुरुङ र सचिव रमेश शाहीले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा वर्तमान गृहमन्त्रीले सुरक्षा व्यवस्था चुस्तदुरुस्त रहेको बताए पनि देवदहको घटनाले त्यो सबै हाँस्यास्पद भएको उल्लेख छ ।

यस्तै नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले पनि विज्ञप्ति प्रकाशित गरि फितलो सुरक्षा प्रवन्धका कारण घटना भएको भन्दै दोषीलाई कारवाहीको माग गरेका छन् । विगतदेखि नै देवदह क्षेत्रमा सुरक्षा संयन्त्र फितलो रहेको तथ्य रहेको र अगामी दिनमा सुरक्षा प्रवन्ध प्रभावकारी बनाउन माग खांणले गरेका छन् ।गए राती करिव ८ बजेको समयमा देवदह ९ बुद्धनगरमा बोलाई स्थानिय युवाहरुको समुहले अनिस पुरी माथी सांघातीक आक्रमण गरी हत्या गरेको थियो ।