बजारको फोेहोर उठाउन गाउँपालिका प्रमुख आफै अघि सरे पछि …..

प्रकाशित मिति:

अर्खावाङ्ग गुल्मी /बिहानै एउटा टोली बजार सरसफाईको लागि आह्वान गर्दै अगाडि बढ्यो । बजार आसपासका स्थानीय हुरुरु भेला भए । हातमा डोको लिएर फोहोर टिप्दै गर्दा मालिका गाउँ पालिका प्रमुख रित बहादुर थापा बग्दै गरेको नालीबाट फोहोर निकाल्दै थिए । फोहोर नियन्त्रणको लागि अनुरोध गर्दै उनले भन्दै थिए ‘यस्तै फोहोर भए यसलाई अब फोहोर बजार घोषणा गर्नुपर्छ ।’

उनीसँगै उत्तिकै सक्रिय देखिन्थे वडा नं ४ का वडा अध्यक्ष हिरालाल अर्याल, पोलमा फोहोर राख्ने डोको झुण्डाउन व्यस्त उनले स्थानीयसँग फोहोर थोपर्ने डम्पिङ्ग साइडको व्यावस्था गर्ने पनि बताए । उनले वडाको फोहोर व्यवस्थापनको लागि आजै निर्णय गरेर काम गर्ने समेत बताए । फोहोर टिप्दै गरेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले सवै वडाका टोल तथा सार्वजनिक स्थलमा फोहोर व्यवस्थापनका लागि डोको राख्ने व्यवस्था गर्न लागिएको बताए । ‘सरसफाई कार्य नियमित हुन्छ तर सधै हामी नै जुट्छौ भन्ने छैन, त्यसको लागि हामीले बानी बसाल्ने काम मात्र गर्ने हो ’ टोलीसँगै रहेका पालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले भने ।

गाउँ पालिकाको तेस्रो स्थापना दिवसमा आयोजना गरिएको सरसफाई कार्यक्रमको समापन गर्दै प्रमुख रित बहादुर थापाले बजार टोल सरसफाई मात्र हैन , व्याक्तिगत सरसफाई तथा व्यावसायलाई नियमन गर्न समेत पालिकाले पहल गर्ने बताए । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि, कार्यालय प्रमुख र स्थानीयको सक्रिय सहभागिता थियो ।