कारागार सार्न गृहमन्त्रीलाई ज्ञापन

प्रकाशित मिति:

भैरहवा /सद्धार्थनगर नगरपालिकाले जिल्ला कारागारलाई स्थानान्तरण गर्न गृहमन्त्री रामबहादुर थापालाई आग्रह गरेको छ । नगरपालिकाले ज्ञापन पत्र बुझाई मन्त्रीलाई ओमसतियामा रहेको जमिनमा कारागार स्थानान्तरण गर्न आग्रह गरेको हो ।

प्रदेश पाँचको सुरक्षा गोष्ठीमा सहभागी हुन भैरहवा आएका मन्त्री थापालाई नगर प्रमुख हरिप्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले र प्रमुख प्रशासकीय अधिकृत ख्याबहादुर थापाले ज्ञापन पत्र बुझाएका हुन् । हाल जिल्ला कारागार नगरपालिकाको वडा नं. १२ स्थित कालिकापथमा छ । त्यहाँबाट नगरपालिकाको स्वामित्वमा रहेको साविक पटखौली गाविस हाल ओमसतिया गाउँपालिकामा रहेको ६ विगहा ७ कठ्ठा साढे तेह्र धुर जग्गामा स्थानान्तरण गर्न नगरपालिकाले आग्रह गरेको नगर प्रमुख अधिकारीले बताए ।नगरपालिको मंसिर १ गते बसेको बैठकले कारागार नगरपालिकाबाट ओमसतिया सार्न सर्वसम्मत निर्णय गरेको थियो । निर्णय भएलगत्तै नगरपालिकाले जिल्ला प्रशासन कार्यालय रुपन्देही, कारागार कार्यालय र कारागार व्यवस्थापन विभागमालाई आग्रह गरिसकेको उपप्रमुख उमा काफ्लेले बताइन् । सम्बन्धित निकायहरुलाई आग्रह गरिसकेकाले मन्त्रीलाई समेत ज्ञापन पत्र बुझाइएको हो । यसअघि नगरपालिकाले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई कारागारको अवलोकन गराई स्थानान्तरणको लागि पहल गर्न आग्रह गरेको थियो । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले आफूले यस विषयमा अध्ययन गरी आवश्यक कमद चाल्ने बताए ।

ओमसतियामा कारागार स्थानान्तरण भएमा हाल कारागार रहेको ठाउँमा पार्किङ स्थनल बनाउने योजना बनाइएको प्रशासकीय अधिकृत थापाले बताए । नगरमा पार्किङस्थल र पर्याप्त जमिन नहुँदा समस्या हुँदै आएको छ । १९९० सालमा बनेको कारागार जीर्ण बन्दै गएको छ । साँगुरो भवन कैदीबन्दीलाई जवरजस्ती कोचिएको छ । यहाँ क्षमताभन्दा ४ गुणा कैदीन्दी छन् । त्यसैले राम्रो र खुल्ला ठाउँमा सार्न पहल गरिएको नगरपालिकाले जनाएको छ ।