नक्कली सुन देखाएर धनमाल लुट्ने महिला पक्राउ

प्रकाशित मिति:

तनहुँ/तनहुँसहित विभिन्न जिल्लामा नक्कली सुन देखाएर धनमाल लुट्ने काममा संलग्नताको आरोपमा प्रहरीले एक महिलालाई जिल्ला प्रहरी कार्यलय तनहुँले पक्राउ गरेको छ । गत फागुन १२ गते व्यास नगरपालिका वडा नं। २ गणेशमान चोकमा बिमला थापालाई नक्कली सुन दिएर त्यसको बदलामा एक तोलाको सुनको सिक्री र आधा तोलाको सुनको औठी लुटेर फरार भएको आरोपमा प्रहरीले गोरखा पालुङटार घर भएकी राधा थापा नामक महिलामाथि पक्राउ गरि अनुसन्धान थालेको छ ।

उनीविरुद्ध पोखरा तथा अन्य ठाउँमा समेत यस्तै आरोप लागेको छ । सीसीटीभी फुटेजका आधारमा उनलाई गत शनिबार प्रहरीले पक्रेको हो । पीडित महिलाले दिएको हुलियाका आधारमा खानतलासी गर्दा थापाको साथबाट नक्कली गहनाहरु सिक्री १ थान, टप १ जोर, औठी २ थान, जुली ३ जोर समेत फेला परेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए । तनहुँ अदालतमा पेश भएकी थापाविरुद्ध ठगी मुद्दामा अनुसन्धानका लागि म्याद लिएर अनुसन्धान भैरहेको उनले बताए ।

यसैबीच प्रहरीले भानु नगरपालिका वडा नं। ८ निवासी लक्ष्मीप्रसाद न्यौपानेलाई अवैध रुपमा लुकाएको एक सय २२ क्युफिट सालका काठसहित पक्रेको छ । वनका कर्मचारी समेतको रोहवरमा उनलाई पक्राउ गरी काठ बरामद गरेर कारवाहीका लागि वन डिभिजनमा पठाइएको प्रहरीले जनाएको छ ।