एनआरएन अमेरिकाको अध्यक्षमा सञ्जय थापाद्धारा उम्मेदवारी घोषणा, प्रत्यक्ष निर्वाचन गर्न माग

प्रकाशित मिति:

न्युयोर्क –  एनआरएन अमेरिकाको अध्यक्ष पदका लागि सञ्जय थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाले २०१९ – २१ कार्यकालको नेतृत्वका लागि आइतवार अध्यक्षको घोषणा गर्नुभएको हो । गृहनगर न्युयोर्कमा एक कार्यक्रमको आयोजना गरी उहाले औपचारिक रूपमै उम्मेद्वारी घोषणा गर्नुभयो । एनआरएन अमेरिकाको बर्तमान कार्यसमितिमा सदस्य रहनु भएका थापाले उम्मेद्वारी घोषणासँगै आफ्नो कार्ययोजना पनि सार्वजनिक गर्नुभयो । दुई वर्षमा धेरै कुरा गर्न नसकिने भएकाले महत्वाकांक्षी कार्यक्रम घोषणा गर्नुको अर्थ नरहेको बताउँदै उहाले हाम्रो एनआरएन राम्रो एनआरएन बनाउँन ठुला कुरा भन्दा पनि साना साना काम गर्दै संगठनलाई बलियो बनाउने बताउनु भयो ।

उहाले पहिला अमेरिकामा रहेका हरेक नेपाली समृद्ध हुनुपर्ने र दोस्रो पुस्ताका लागि सुन्दर भविष्य दिनुपर्ने दायित्व रहेको उल्लेख गर्नुभयो । ‘हामीमध्ये धेरैले खास मानेमा अमेरिका किन आएको भन्ने नै पुष्टी गर्न सकेका छैनौ। हामीमध्ये धेरैको जीवन नेपालको भन्दा पनि तल्लो स्तरको छ। यो सत्यलाई स्वीकार्नुको विकल्प हामीसँग छैन ।’ उहाले अगाडी भन्नुभयो,‘यस्तो अवस्थामा उकासिएर आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ ।’

अध्यक्षका प्रत्यासी थापाले एनआरएनमा प्रत्यक्ष चुनाव हुनुपर्ने धारणा राख्दै सबैले छर्लङ्गै देख्न सक्ने पारदर्शी एनआरएन हुनुपर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताउनु भयो । पत्रकार र अमेरिकाको खासगरी न्युयोर्कको नेपाली डायस्पोराका केही अगुवाहरूको उपस्थिति रहेको उम्मेद्वारी घोषणा समारोहमा सहभागी हुन प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापा बाल्टिमोरबाट न्युयोर्क पुग्नु भएको थियो । मञ्चका महासचिव राधाकृष्ण देउजालगायतका मञ्चका नेता एवं कार्यकर्ताहरूको पनि समारोहमा उपस्थिति रहेको थियो । थापा पेशाले इन्जिनियर समेत हुनुहुन्छ ।