मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना

प्रकाशित मिति:

मकवानपुर – मकवानपुरको गढी गाउँपालिका वडा नम्बर –२, धरमपानीमा मंगलबार जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।ज्यान गुमाउनेमा काभ्रे पाँचखाल लामिडाँडा घर भएका ३५ वर्षीय नवराज परियार र नुवाकोट घर भएका २५ वर्षीय विकास धमला रहेकोे सशस्त्र प्रहरी गण हेटौंडाका डीएसपी अमर खत्रीले बताउनुभयो ।घाइते सबैको अहिले हेटौँडामा उपचार भैरहेको छ । घाइतेहरुमध्ये १२ जनाको हेटौँडाको चुरेहिल अस्पतालमा र ६ जनाको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोक मार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२, धरमपानीमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको हो ।

भक्तपुरबाट सूर्यप्रसाद न्यौपानेको बिहेको जन्ती बोकेर हेटौंडा(५, पिप्लेमा दुलही अनुसा भट्टलाई लिनका लागि जन्ती आउने क्रममा बस दुर्घटनामा परेको थियो ।जन्ती बोकेर आएको तीन वटा बसमध्ये सबैभन्दा पछाडिको बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै हिँडेको जिल्ला प्रहरी कार्यालयबाट डीएसपी यज्ञप्रसाद भट्टराईसहितको टोली घटनास्थल पुगेको छ ।