रमाउनको लागि अर्को थलो‘झुंगी’

प्रकाशित मिति:

सन्जु पौडेल \ पछिल्लो समय रूपन्देही र आसपासका क्षेत्रमा पर्यटकीय क्षेत्रको बिकाशमा धेरै प्रयासहरू भइरहेका छन् । व्याक्तिगत तथा सामुहिक रूपमा संचालन गरिएका व्यवसाय हुन् या प्राकृतिक रूपमा स्थापना भएका बिभिन्न क्षेत्रहरूमा बन क्षेत्रहरूमा संचालनमा आएका पिकनिक तथा आरक्षित क्षेत्रहरू पनि उत्तिकै महत्वपुर्ण छन् । रूपन्देही आसपासमा बिभिन्न पिकनिक स्पट मध्ये आनन्दवन भित्र रहेको झुंगी पिकनिक स्पट पनि एक हो जुन खासै चर्चा र सबैको चांसो भन्दा बाहिर रहेर पनि प्रयाप्त संभावना बोकेको क्षेत्र हो । बि.स २०३८ सालमा आएको भिषण बाढीले जब बुटवल नै बगाएको थियो , त्यही बेला रूपन्देहीको मणिग्रामको पश्चिम तर्फको भागमा रहेका भाटा गाउँ , हरपुर गाउँको आधा भाग बगायो तिनाउ नदीले , त्यसपछि मानिसहरू विस्थापित भए । त्यहाँ रहेका २७ २८ घरधुरी खेतीबाली बगेपछि मान्छेले त्यो वस्ती छाडे । खोलाबाट त्रसित जनताले पानी छेक्न कहिले रुख ढालेर, तीन गोडे लगाएर कोशिस गरिरहे । त्यती बेला नरबहादुर राना, डम्बर बहादुर केसी, डुकुलराज गौतम, भविश्वर पाण्डे, र हालका अध्यक्ष अर्जुनराज उपाध्यायको पहलमा केही ढुंगा, जाली लगाएर बाँध बनाईयो तर पनि खोलाको आतंक छेकिएन । जंगल नै पानीले भरियो । गाउँ विस्थापित भएपछि खोलाले केही मात्रामा छोडेर बचेको ढुङ्गा गेरगेटोमा स्थानीयले वृक्षारोपण शुरु गरे । खोलामा भएको गिट्टी बेच्ने काम शुरु भयो । बिस्तारै त्यसले खोलाको सतह गहिरिँदै गयो र पानीले वरपर पार्ने प्रभाव क्रमश अचेल रोकिएको छ । त्यसपछि त्यो स्थानलाई वन क्षेत्र घोषणा गरी त्यहां नजिकका छिमेकी टोलका घरधुरीले २०४९ सालमा आनन्दवन सामुदायिक वनको नामबाट दर्ता गराए । दर्ता भए पश्चात समिती गठन भयो । उक्त समितीले बैठक बस्ने प्रयोजनका लागि वन क्षेत्र भित्र एउटा टिनको सेड बनायो । यो वन मणिग्राम देखि करिब ढाई किलोमिटर पश्चिम तर्फ पर्छ । १० वर्षे सशस्त्र संघर्षको समयमा फेरि तत्कालिन माओवादीले सोही क्षेत्रमा सुकुम्वासी वस्ती बसाउने भन्दै केही घरहरू बसाए पनि पछि सबै घरधुरीले धपाएको बताउँछन् आनन्दवन सामुदायिक वनका कोषाध्यक्ष खुम बहादुर थापा । उनी भन्छन् ‘किनकी वनको जग्गा वनमै राख्ने हाम्रो चाहना थियो । अलि पछि फेरि हैन यति मात्र भन्दा पनि केही आय हुने अनि प्रचार प्रसार हुने गरि थप सेड थप्ने सल्लाह भयो’ । पछि तिनाउ खोलाको वरपर संचालनमा आएका क्रसर उद्योगका संचालकहरूको सहयोगमा थप तीन वटा सेड निर्माण भए । अहिले ४ वटा सेड छन् । ती सेडहरू पिक्निक खानेहरूका लागि प्रयोग भएका छन् । जसबाट प्रति सेड ५ सय र पानी, बिजुली साथै दाउराको जोडेर संख्याको आधारमा भाडा लिइने गरेको थापा बताउँछन् । जुन रकम हेरालुलाई दिन पर्याप्त भए पनि बचतै हुने गरि आम्दानी नभएको उनको भनाई छ । थापाका अनुसार उक्त बन क्षेत्रमा १४५ घरधुरी वनको उपभोक्ता छन् । वनमा रुखहरू बुढा भएर ढले र सुकेका दाउरा भए भने यिनै उपभोक्ताले प्रयोगमा ल्याउने गरेका छन् । वन क्षेत्रमा पुजापाठ तथा बिवाहलाई सहयोग पुग्ने गरि एउटा गणेशको मन्दिर पनि बनाइएको छ , विभिन्न सहकारीका गोष्ठी, बैठक तथा अन्य सार्वजनिक कार्यक्रम धेरै हुने गरेको भए पनि सो यस क्षेत्रको लागि पहल गर्न गरेको आग्रहलाई कतै बाट सुनुवाई नभएको स्थानीयको गुनासो छ । उनीहरू भन्छन् ‘ डिएफओ देखि लिएर केन्द्रिय कार्यालयका प्रतिनिधीले पनि अवलोकन नगरेका होइनन् तर सहयोग गर्ने कुरामा कहींबाट भएन ।’ यो कृतिम वन भएको भन्दै अहिले पनि एक फिट पछि पुरै माटो देखिने सामुदायिक वनका अध्यक्ष अर्जुन उपाध्याय बताउँछन् । उनी भन्छन् ‘प्राकृतिक जस्तो हुने भएन, कति विरुवा रोप्छौं धेरै समय बांचेर रहलान् भन्ने छैन त्यही पनि विरुवा रोप्ने काम जारी छ । वन संरक्षणको दायित्व सोंचेर गरेका छौं ।’ २०४५ सालमा सचिव हुँदै समितिमा प्रवेश गरेका अर्जुन उपाध्याय अहिले समितिको अध्यक्ष भएका छन् । यो उनको दोस्रो कार्यकाल हो । उनी पनि कृतिम वन भएकाले नयां वातावरण सम्भव नभएको तर यहाँ थुप्रै श्रोतहरू रहेको बताउँछन् । ती श्रोत जस्तै बालुवा, गिट्टी बेचेर आएको रकमले माटो फिलिङ गर्ने हो भने विरुवा रोपेर राम्रो हुने उनको तर्क छ । सँगसंगै प्राकृतिक वनको एरियामा रहेका पिक्निक स्पोट र बाल उद्यान लगायतका स्थान बनाउन सकिने उनको धारणा छ । पिकनिक एरियामा तारवार गरिएको छ । पुरै वन एरियामा तारजाली गर्न सके यहाँ भएका केही जनावरले बाहिर गएर गर्ने विनाश पनि रोकिने वन्यजन्तुको संरक्षण पनि हुने थियो उनको भनाई छ । उनका अनुसार त्यस क्षेत्रमा अनुमानित करिब ३ सय निल गाई, वनियल, विभिन्न रङ्का चरा, हरिण देख्न सकिन्छ । सहयोग पाए तीन, चार सय अंट्ने हल बनाउने समितिको योजना छ । तर सहयोग पाउनुपर्ने ठाउँमा के पैसा तिर्न पर्यो भन्ने प्रवृतिले सफल हुन नसकेको उनको भनाई छ । जे होस् बिस्तारै धेरैको आर्कषणको केन्द्र बन्दै गएको यस क्षेत्रमा स्थानीयले कुनै समय जंगलको छेउमा आफूहरू बस्दा एक्लो छौं की भन्ने लाग्नेमा अहिले बेला बेलामा बुटवल लगायत आसपासका क्षेत्रबाट शान्त वातावरणमा पिकनिक खान आई रमाइलो गर्दा आफुहरूले पनि रमाइलो त मानेका छन् तर पर्यटकीय स्थलकै रूपमा विकासका लागि धेरै कार्य बांकी रहेको र प्रयाप्त संभावना बोकेको झुंगी पिकनिक स्पट अर्थात थारु भाषामा अर्थाइने झुंगी (झाडी) बाट बदलिन चाहेको छ ।