संसद बैठक चल्न नदिने राजपाको चेतावनी

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा ले आज बस्न लागेको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेको हुनाले बैठक अवरुद्ध पारिने राजपा नेता एवं सांसद राजकिशोर यादवले  बताए ।हामीले अघिल्लो बैठकमै लाल आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् भनेका थियौं । यसबारेमा सभामुखलाई ध्यानाकर्षण गराइएको थियो’ यादवले भने, ‘सरकारले प्रतिवेदन सार्वजनिक गरेन, त्यसैले आजको बैठक चल्न दिइन्न ।’

मधेस आन्दोलन एवं थारु आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाबारे छानविन गर्न सरकारले ०७३ साल असोज २ गते पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो ।कुल ३ हजार २६४ वटा उजुरीमाथि छानविन गरेर आयोगले ०७४ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो ।तर, अहिलेसम्म सरकारले लाल आयोगको सो प्रतिवेदन सार्वनिक गरेको छैन । राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने सरकारसँग माग राख्दै आएको छ ।

साथै, हाल जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएपछि राजपा थप आक्रोशित बनेको छ ।सांसद चौधरीमाथि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि राजपाले यसअघि नै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको छ । उसले चौधरीलाई रिहाई नगरिए सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।आन्दोलनका कार्यक्रमबारे छलफल गर्न राजपाका शीर्ष नेताहरुको बैठक मंगलबारदेखि राजधानीमा बसिरहेको छ । बैठक विहीबार पनि जारी रहने राजपा नेता यादवले जानकारी दिए ।