कतारसँग श्रम सम्झौता नवीकरणबारे छलफल हुँदै

प्रकाशित मिति:

काठमाण्डौ – सरकारले कतारसँग परिमार्जनसहित श्रम सम्झौता नवीकरण गर्ने तयारी गरेको छ । श्रम सम्झौता परिमार्जनसहित नवीकरण गर्ने विषयमा कतारसँग बुधबार र बिहीबार छलफल हुँदैछ । कतारसँग छलफल गरेर नवीकरणको मिति पनि टुंग्याउने श्रम मन्त्रालयले जनाएको छ ।शून्य लागत लगायत नेपाली कामदारको सुरक्षाको प्रत्याभुत हुनेगरी श्रम सम्झौता नवीकरण गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो समय श्रम सम्झौताका लागि रोजगारदाता देशसँगको छलफललाई तिव्रता दिएको छ ।वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन नयाँ देशसँग श्रम सम्झौता गर्ने र नयाँ गन्तव्य देशको खोजी गर्ने श्रम मन्त्री गोकर्ण विष्टको भनाई छ ।कतारसँग सन् २००५ श्रम समझदारी भएको थियो । एक महिनाभित्रमा सरकारीस्तरमा श्रम सम्झौतामा हस्तक्षर हुनेगरी कतारसँग छलफल गर्ने मन्त्रालयले जनाएको छ ।यस्तै यसअघि नेपालबाट कामदार लैजान कतारले रोजगारी भिलेजको स्थापना गर्ने प्रस्ताव राखेको थियो । यस विषयमा पनि कतारसँग छलफल हुँदैछ ।

यस्तै, मन्त्रालयले यूएईसँग श्रम नवीकरणको तयारी गरेको गरेको छ । नेपाल र यूएईबीच सन् २००७ एमओयू भएको थियो । श्रम नवीकरणका विषयमा यसअघि पनि कतार र यूएईसँग छलफल भइसकेको छ ।त्यसैगरी साउदी, ओमान, जापान र मौरिसससँग भने नयाँ श्रम सम्झौता गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ । जापानसँगको श्रम सम्झौता अन्तिम चरणमा पुगेको छ । छुट्टै संयन्त्र बनाएर जापानमा कामदार पठाउने विषयमा दुई पक्षबीच छलफल अन्तिम चरणमा पुगेको श्रम मन्त्रालयले जनाएको छ ।