३४ हजार ३७ सवारीसाधनलाई कारबाही

प्रकाशित मिति:

काठमाण्डौ – ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारबाही गरेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि अहिलेसम्म उपत्यकामा जथाभावी हर्न बजाउने सवारीसाधनलाई कारबाही गरेको हो । महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदुषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विसं २०७४ वैशाख १ देखि हर्न निषेध गरेको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकाबासीन्दाको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीमा बाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको बताउनुभयो । “उपत्यकामा धेरै सवारीसाधनसँगै हर्न बजाउने सवारीसाधनको सङ्ख्या बढेको छ, त्यसैले महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई कडाइ गरेको छ”, उहाँले भन्नुभयो ।ध्वनि प्रदुषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरणशक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने गरेपछि सरकारले हर्नमा प्रतिबन्ध लगाएको हो ।

यस्तै, ट्राफिक प्रहरीले ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदुषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन वातावरण विभागलाई सिफारिससमेत गरेको छ । महाशाखाले ध्वनि प्रदुषण गरेवापत एउटा सवारीसाधनबाट रु ५०० कारवाहीस्वरुप लिँदै आएको छ ।यातायात व्यवस्था विभागका अनुसार अहिले देशभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र आठ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् ।