आवास कम्पनीको जग्गा बिक्री काण्ड,,व्यवस्थापक र संवाददाता निलम्बित

प्रकाशित मिति:

पश्चिम नवलपरासीमा राष्ट्रिय आवास कम्पनीको जग्गा बिक्रीसम्बन्धी काण्डमा बुटवल मिडिया प्रकाशन प्रा. लि. द्वारा प्रकाशित दैनिक पत्र दैनिकको ब्राण्ड दुरुपयोग गरेको भन्दै व्यवस्थापकलाई कारबाही गरेको छ ।
कम्पनीको टेण्डरसम्बन्धी विज्ञापन प्रकाशनका विषयमा नियमित पत्रिकामा प्रकाशन नगरी अर्को नक्कली पत्रिका तयार गरेर प्रकाशन गरेको भन्दै व्यवस्थापक महेश रिजाललाई निलम्बन गरेको हो ।
दैनिक पत्रका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक बालकृष्ण चापागाईंले विज्ञप्ति निकालेर रिजाललाई निलम्बन गरिएको जनाएका छन् ।
‘२०७५ जेठ १७ गतेको बजारमा गएको पत्रि का एउटा छ, सोही दिनको मिति पारी अर्को नक्कली पत्रिका तयार पारेर आवास कम्पनीको टेण्डर राखी सो कार्यालयलाई मात्रै केही पत्रिका उपलब्ध गराएको स्वयम्ले स्वीकार गरेकाले कारबाही गरिएको छ–विज्ञप्तिमा भनिएको छ ।
कार्यकारी प्रमुख तथा प्रधान सम्पादक चापागाईँका अनुसार नवलपरासीस्थित संवाददाता रामकुमार श्रेष्ठलाई दैनिक पत्रको ब्राण्ड दुरुपयोग गरी नक्कली काम गर्नमा मुख्य भूमिका खेलेको भन्दै बर्खास्त गरिएको छ । ‘आवास कम्पनीको कार्यालयबाट नक्कली काम गर्नका लागि मुख्य योजनाकार देखिएकाले त्यहाँका संवाददाता श्रेष्ठलाई बर्खास्त गरिएको हो,–चापागाइँले भने–‘पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादाविपरीत गैरकानुनी कार्य गर्नेलाई हामी संरक्षण गर्दैनौं, यो अत्यन्त निन्दनीय र अकल्पनीय काम हो, यसले संस्था र संस्थामा आवद्ध इमान्दार पत्रकार तथा कर्मचारीहरुको इज्जत र प्रतिष्ठामै आँच पु¥याएको छ ।’
नक्कली पत्रिका देखाएर अर्कै विज्ञापन एजेन्सीको बिल पेश गरी संवाददाता श्रेष्ठले आफ्नो नाममा चेक बुझेको देखिएको जानकारी प्राप्त भएको भन्दै दैनिक पत्रले गैरकानुनी काम गर्नेउपर छानबीन गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
विज्ञापन छपाएको भनेर आवास कम्पनीबाट श्रेष्ठले १ लाख ४६ हजार रुपैयाँ रकम लिएको तथा त्यसमा संलग्न व्यक्ति र विज्ञापन एजेन्सीलाई पनि रकम पुगेको खुल्न आएको भन्दै त्यसमाथि छानबीन गर्न दैनिक पत्र दैनिकले माग गरेको छ ।
‘यसमा हामी थप छानबीन गर्दैछौं, जग्गा बिक्रीका नाममा भएको भ्रष्टाचारमा संलग्नका बारेमा सम्बन्धित निकायले छानबीन गरोस्,–प्रधान सम्पादक चापागाइँले भने–जग्गा बिक्रीका लागि गोप्य रुपमा टेण्डर निकाल्न मिलेमतो गर्ने र त्यसमा हाम्रो पत्रिकाको ब्राण्डलाई समेत दुरुपयोग गरी बदनाम गराउने गरी किर्ते काम भएको रहेछ, यसलाई हामी अत्यन्तै गम्भीर रुपमा लिएका छौं र हाम्रा प्रकाशनहरुको ब्राण्ड दुरुपयोग गरी पेशागत मर्यादा नाघेर गैरकानुनी रुपमा काम गर्ने जो कोहीलाई पनि हामी कारबाही गर्छौ ।’