रुपन्देही सुपर लिग,शंकरनगरको फराकिलो जित

प्रकाशित मिति:

भैरहवा /पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनको स्टार क्रिकेट क्लब ओमसतियामाथि शंकरनगर क्रिकेट क्लब शंकरनगरले फराकिलो जित निकालेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशाला भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘ए’ को समूह बीको खेलमा शंकरनगरले स्टारलाई ८ विकेटको फराकिलो जित निकालेको हो ।जितका लागि स्टारबाट पाएको १ सय ४० रनको लक्ष्य शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ३०.३ ओभरमा २ विकेट गुमाउँदै १ सय ४१ रन बनाई जित निकाल्यो । जसमा शौरभ खनालले नटआउट ६९, संदीप सुनारले २६ तथा नरेशचन्द ठकुरीले नटआउट २५ रनको योगदान गरे । बलिङमा स्टारका बाबुराम क्षेत्रीले २ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्टारले ४८ ओभरमा सबै विकेट गुमाई १ सय ३९ रन बनाएको थियो । उसका लागि शक्ति गौचनले ३१, अनिल खत्रीले २९, रुपेश बश्यालले ११ रन बनाए । बलिङमा शंकरनगरका संदीप सुनार, नितेश थापा, नवीन भट्टराई, तुलबहादुर थापाले समान २÷२ तथा रुविन क्षेत्रीले १ विकेट लिए । खेलमा शंकरनगरका शौरभ खनाल म्यान खफ दी म्याच घोषित भए ।

शनिबार समूह एमा रहेका लुम्बिनी खुकुरी क्लब बेलहिया र बुटवल–११ क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने संघमा अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए । चैत ९ गतेसम्म चल्ने लिगको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ दी म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ ।