बंगलादेशविरुद्ध नेपालको जित

पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गतको पहिलो क्वार्टरफानलमा नेपालले उत्कृष्ट जित हासिल गरेको छ

प्रकाशित मिति:

पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गतको पहिलो क्वार्टरफानलमा नेपालले उत्कृष्ट जित हासिल गरेको छ। विराटनगरमाको सहिद रंगशालामा बंगलादेशविरुद्ध शनिबार दिउँसो भएको खेलमा नेपालले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो। सुरुवातबाटै निकै आक्रामक रुपमा खेलेको नेपालले छैटौं मिनेटमै आत्मघाती गोल उपहार पाएको थियो। बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनले हेडमार्फत गोल बचाउन खोजे पनि उक्त बलले सीधै आफ्नै गोलपोस्टको दिशा लिएको थियो। पाँचौं मिनेटमा स्ट्राइकर सावित्रा भण्डारीले वान भर्सेस वानमा गोल गर्न चुकेकी थिइन्।  २३ औं मिनेटमा नेपालले सावित्राको गोलमा अग्रता दोब्बर बनायो। बाँया भागबाट बल अघि बढाउँदै गोलकिपरलाई विट गर्दै उनले उत्कृष्ट गोल गरेकी थिइन्। योसँगै सावित्राको अन्तर्राष्ट्रिय गोल संख्या २४ पुगेको छ। लगत्तै २८ औं मिनेटमा सावित्राकै पासमा मञ्जलीकुमारी योञ्जनले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाइन्। कप्तान नीरु थापाले वान भर्सेस वानमा पाएको अर्को सुन्दर अवसर खेर फाल्दा नेपाल अग्रता बढाउने मौकाबाट चुकेको थियो।  नेपाल र बंगलादेश समूह विजेताका बन्ने लक्ष्यका साथ मैदान उत्रिएका थिए। दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। नेपाल र बंगलादेशसँग भुटान पराजित भएपछि दुवै टिम एक खेलअगावै अन्तिम ४ मा प्रवेश गरेका हुन्। भुटान नेपालसँग ३–० र बंगलादेशसँग २–० ले पराजित भएको थियो। नेपाललाई समूह विजेता बन्न यो खेलमा बराबरी गरे पनि पुग्ने थियो भने बंगलादेशलाई जित्नैपर्ने दबाब थियो। मुख्य प्रशिक्षक हरि खड्काले प्लेइङ ११ मा एक खेलाडी परिवर्तन गरेका थिए। डिफेन्डर अमृता जैसीको स्थानमा पुनम जर्घामगरलाई समावेश गरिएको थियो।  ९० मिनेटको खेल अवधिभर आसलाग्दो प्रदर्शन गर्न नसेकेको बंगलादेशले खेलको अन्त्यतिर भने केही आसा देखाएको थियो। ९० मिनेटमा बंगलादेशको प्रहार गोल पोस्टको माथि लागेर बाहिरिएको थियो।