रुपन्देही सुपर लिग,लुम्बिनी खुकुरी सेमिफाइनलमा

प्रकाशित मिति:

भैरहवा /सिद्धार्थ रंगशाला भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको डिभिजन ‘ए’ को खेलमा विजयी हुँदै लुम्बिनी खुकुरी क्लब बेलहिया सेमिफाइनलमा पुगेको छ । उसले बुटवल ११ क्रिकेट क्लब बुटवललाई १ सय ६६ रनको भारी अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २ सय ५९ रन बनाएको थियो । उसका लागि साहव आलकले नटआउट ६२, धिरज शाहीले ३१, संदीप रजालीले ३० र अन्तिम थापाले २५ रन बनाए । बलिङमा बुटवल ११ का सुनिल नेपाली र प्रकाश केसीले समान १÷१ विकेट लिए ।

प्रतिउत्तरमा २ सय ६० रनको लक्ष्य पछ्याएको बुटवल ११ ले २८.४ ओभरमा सबै विकेट गुमाई ९३ रनमै समेटियो । उसका लागि कृष्ण सेनले २६ र हिमाल पुनले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा खुकुरीका लालबहादुर अधिकारीले ४, अजयकुमार लोनियाले ३ विकेट लिए । खेलमा खुकुरीका साहव आलम म्यान अफ दी म्याच घोषित भए ।आइतबार देवदह क्रिकेट युनिट देवदह र तिरुपति क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए । चैत ९ गतेसम्म चल्ने लिगको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ दी म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ ।