नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका जाँदै

प्रकाशित मिति:

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आइतबार साँझ अमेरिका जान लागेका हुन् । प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जानेछन् । दुई महिनाअघि पनि प्रचण्ड सीतालाई लगेर अमेरिका जाने तयारीमा थिए । तर भेनेजुएला प्रकरणमा नेकपाको तर्फबाट जारी गरिएको विज्ञप्तिले आलोचना भएपछि प्रचण्डले अमेरिका जाने कार्यक्रम स्थगित गरेका थिए ।त्यसको केही दिनपछि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रचण्डलाई भेटेर अमेरिका जान सहजीकरण गरिदिएका थिए । सीता पार्किन्सन रोगले पीडित छिन् । छोरा प्रकाश दाहालको असामयीक निधनपछि उनलाई झन् रोगले च्यापेको छ । यसअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो । तर पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएको छोरी गंगाले बताइन् । उपचारकै सिलसिलामा गत कात्तिक महिनामा प्रचण्ड र सीताले म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेको तस्वीर सामाजिक सन्जालमा भाइरल भएको थियो ।