बाढी र पहिरोमा परि इन्डोनेसियामा ६३ जनाको मृत्यु

प्रकाशित मिति:

एजेन्सी /इन्डोनेसियामा शनिबार राति आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको ज्यान गएको छ ।घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिएका छन् ।

अत्यधिक वर्षाका कारण जिल्लाका धेरै ठाउँमा प्राकृतिक प्रकोपका घटनाहरु भएको जनाइएको छ । प्रकोपमा परी २१ जना गम्भीर घाइते भएका छन् भने अरु १८ जना सामान्य घाइते भएका प्रान्तीय प्रकोप व्यवस्थापन निकायको आपतकालिन इकाइका प्रमुख कोरी सिम्बोलोनले जानकारी दिए ।बाढीले दर्जनौँ घर, पुल, सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुर्‍याएको सिम्बोलोनले जानकारी दिए । घटनाबाट प्रभावितहरुलाई खोजी तथा उद्धार र राहत वितरण कार्य भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।