पार्टी कार्यालयमा हस्तक्षेपबारे नेकपा गम्भीर, शसक्त प्रतिरोध गर्ने चेतावनी

प्रकाशित मिति:

शिव डुम्रे -बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीको पार्टी कार्यालय पाल्पारोड स्थित ‘रातो घर’मा नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुद्धारा हस्तक्षेप गरिएको प्रति नेपाल कम्युनिष्ट पार्टीले गम्भीर ध्यानाकर्षण जनाएको छ । एक विज्ञप्ती सार्वजनिक गर्दै पार्टी कार्यालयको ताल्चा फोरेर पार्टीको झण्डा, ब्यान, साईनबोर्ड लगायत महत्वपूर्ण सामग्री कब्जा लिएको प्रति घोर भत्र्सना तथा निन्दा गरेको हो ।

आफुहरुले  १३ बर्षदेखी पार्टी कार्यालय संचालन गर्दै आईरहेको उक्त कार्यालयमा विना सुचना हस्तक्षेप गरिएको र कार्यालयमा बस्दै आएका मजदुरहरुलाई २ दिनभित्र घर खाली गर्न चेतावनी समेत दिएको बताउँदै विज्ञप्तीमा यस्तो हर्कत नदोहोर्याउन समेत चेतावनी दिएको छ । जिल्ला इन्चार्ज शरद ओली र जिल्ला सेक्रेटरी अमर आरसीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘कम्युनिस्टको नाममा समाजवाद र साम्यवादको बदनाम गर्ने ओली–प्रचण्ड नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो कार्यालयमाथि गरेको अनावश्यक हस्तक्षेप, पार्टीमाथि लगाइएको प्रतिबन्ध र हाम्रा नेता कार्यकर्ताहरुको गिरफ्तारी तथा जनविरोधी हर्कत विरुद्ध हामी राजनीतिक, वैचारिक तथा वर्गसङ्घर्षको माध्यमबाट सशक्त प्रतिवाद गर्दछौं र गृहप्रशासनको यस्तो फासीवादी र राजनीतिक स्वतन्त्रता विरोधी हर्कत विरुद्व सम्पूर्ण मानवअधिकारवादी, नागरिक समाज, पत्रकार, न्यायप्रेमी जनसमुदायलाई प्रतिरोध गर्न अपील समेत गर्दछौं ।’

वाणिज्य बैंकले लगाएको ताल्चा तोडेर आफ्नो पार्टीले ताल्चा लगाएको र पार्टी कार्यालय यथावत रहेको समेत विज्ञप्तीमार्फत जानकारी दिदैं फेरी पनि त्यस्तो खालको हस्तक्षेप गरेमा पार्टीले गम्भीर र कठोर निर्णय लिन बाध्य हुने र हस्तक्षेप विरुद्ध पार्टी जुनसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी समेत विज्ञप्तीमार्फत दिएको छ ।