आइपीएल खेल्न सन्दीप बुधबार भारत जाने

प्रकाशित मिति:

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बुधबार भारत जाने भएका छन् । नेपाली राष्ट्रिय टोलीका टिम म्यानेजर रमन शिवाकोटीले सन्दीप मार्च २० मा भारत जाने बताए । ‘सन्दीप २० मार्चमा भारत जाने छन् । मंगलबार प्रेस मिट गरेर थप जानकारी दिने छौं,’ शिवाकोटीले भने । सन्दीपले दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्ने छन् । सन्दीपले गत बर्षको आईपीएलबाट नै टी ट्वान्टी क्रिकेटमा डेब्यु गरेका थिए ।

दिल्लीले सन्दीपलाई यस सिजनको लागि रिटेन गरेको हो । आईपीएल मार्च २३ बाट सुरु हुँदैछ । सन्दीपको टिमको पहिलो खेल मार्च २४ मुम्बई इण्डियन्सविरुद्ध रहेको छ ।

सन्दीपले डेब्यु सिजन ३ खेलमा प्रभावशाली प्रदर्शन गर्दै ५ विकेट हात पारेका थिए । आईपीएलमा डेब्यु गरेपछि सन्दीपले ११ महिना भित्र विश्व भरका प्रशिद्द फ्रेन्चाइज टी-ट्वान्टी लिगमा आफ्नो प्रतिभा देखाइसकेका छन् । सन्दीप गत साता मात्र पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट खेलेर स्वदेश फर्किएका थिए । लाहोर क्वालेण्डर्सबाट पीएसएल खेलेका सन्दीपले ७ खेल खेल्दै ११ विकेट लिएका थिए ।