रुपन्देही सुपर लिग,सेमिफाइनल समिकरण पुरा

प्रकाशित मिति:

भैरहवा /सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । मंगलबार डिभिजन एअन्तर्गत समूह चरणका सबै खेल सकिएसँगै सेमिफाइनल समिकरण पुरा भएको हो । अन्तिम खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवाले स्टार क्रिकेट क्लब ओमसतियालाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल पुगेको छ । यसअघि लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया, वेस्टर्न क्रिकेट क्लब बुटवल र देवदह क्रिकेट युनिट देवदह सेमिफाइनल पुगिसकेका छन् ।

आफ्नो अन्तिम खेलामा पराजित भएपछि स्टार भने बी डिभिजनमा घटुवा भएको छ । यस वर्ष ए डिभिजनका १२ क्लबमध्ये स्टारसँगै प्रोफेसनल मास्टर्स ११, बुमएमसीसी र न्यू होराइजन बी डिभिजनमा घटुवा भएका छन् । अन्तिम खेलमा शिवशक्तिले स्टारबाट जितका लागि पाएको ५१ रनको लक्ष्य ११.२ ओभरमा २ विकेट क्षतिमा पुरा गर्यो । उसका लागि सिद्धान्तराज शाहीले १३ र रोशन चौधरीले १० रन बनाए । बलिङमा स्टारका रुपेश बास्तोला र नरेशकुमार सार्कीले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको स्टारले निर्धारित ५० ओभरको खेलमा ५० रन बनाउँदै अलआउट भएको थियो । उसका लागि शक्ति गौचनले ३० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा समेट्न शिवशक्तिका कृष्ण कार्की र विष्णु कटरियाले समान ४–४ विकेट लिए । यस्तै, कृष्ण पराजुली र अख्तर हुसेनले १–१ विकेट लिए । खेलमा शिवशक्तिका कृष्ण कार्की म्यान अफ दी म्याच घोषित भए ।सेमिफाइनलको पहिलो खेल बुधबार लुम्बिनी खुकुरी र वेस्टर्न तथा दोस्रो खेल ८ गते देवदह र शिवशक्तिबीच हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए । चैत ९ गतेसम्म चल्ने लिगको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ दी म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ ।