होलीको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले के भने ?

प्रकाशित मिति:

काठमाडाैँ –  राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन  र प्रधानमन्त्री केपी शर्मा  ओलीले सबै नेपालीहरुमा होलीको शुभकामना दिएका छन् । छुट्टाछुट्टै सन्देश जारी गर्दै उनीहरुले आपसी सद्भाव र राष्ट्रिय एकतालाई होलीले अझै बलियो बनाओस् भन्ने कामना गरेका छन् । राष्ट्रपति भण्डारीले होली पर्वले सबै नेपालीबीच सामाजिक सदभाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेकी छन् । सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै राष्ट्रपतिले सबैमा नयाँ उमंग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेकी छन् । होलीजस्ता पर्वले अमूल्य संस्कृतिहरुको संरक्षण र प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्ने राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ । यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले होलीको शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपालीमा सुख, शान्ति, सदभाव, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् ।

उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद समयमा आउने यस पर्वले सप्तरंगी जस्तै रंगीन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सदभाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास लिएको छु ।’ उपराष्ट्रपति पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानलाई सार्थक बनाउन होलीले सबै नेपालीलाई प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन् । हिमाली र पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लासका साथ होली मनाइँदैछ । तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ । यी दुवै दिनहरुमा सरकारले सार्वजनिक विदा दिएको छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली अझ बढी एकतावद्ध हुन जरुरी रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न आग्रह पनि गरेका छन् ।

होलीको अवसरमा जारी गरिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘देशलाई द्रुत गतिमा आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर गराइँदै गरिएको आजको परिप्रेक्षमा हामी सम्पूर्ण नेपाली अझ बढी एकताबद्ध हुन जरुरी छ ।’  प्रधानमन्त्री ओलीले फागु पूर्णिमा (होली)ले विभिन्न मातृभाषाका विविध संस्कृति अंगीकार गर्ने सबै जातजातिका सम्पूर्ण नेपालीहरुबीचको सदभाव र सुसम्बन्ध अझ मजबुत बनाउन प्रेरणा प्रदान गर्नेछ विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको सबैलाई स्मरण पनि गराएका छन् । उनले सन्देशमा लेखेका छन्, ‘नेपालभरी र बाहिर पनि खुसीयाली प्रकट गर्दै होली अर्थात पानी र रंग खेलेर मनाइने यस पर्वका अवसरमा म फेरि एकपटक हाम्रो राष्ट्रिय संकल्प समृद्ध नेपाल, सुखी नेपालीको स्मरण गर्न चाहन्छु ।’