होली पर्व र यसको महत्व

प्रकाशित मिति:

एजेन्सी -हिन्दू संस्कृतिमा रङ्गहरूको चाड होली नेपालीहरूको प्रमुख चाड हो । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ ।सर्व दुष्टापहो होम सर्वे रोगो पशान्तये क्रियते स्यां द्विजैपार्थ तेन सा होलिका स्मृता ।निशागमे प्रपूज्येत होलिका सर्वदा जनैः नदिवा पूजयेद् ढुण्ढां पूजिता दुःखदा भवेत् ।।

होली हामी सनातनी आर्यहरूको अतिप्राचीन धार्मिक तथा सांस्कृतिक पर्व हो । यो फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ । यस दिन साना ठूला, उँच–नीचको विचारलाई छाडेर सबैले यस फागु पर्व मनाउँदछन् । होलीले सबैको मनमा भएको मैलोलाई धोएर नयाँ प्रेमको रङ्क दिने हो । यस दिन पुरानो शत्रुतालाई त्याग गरेर एकजुट भई होली पर्व मनाउँदछन् । नेपालको सम्बन्धमा होली पर्व फाल्गुन शुक्लअष्टमीका दिन हनुमान ढोकाअगाडि चीर गाडेर सुरुवात गरिन्छ र पुर्णिमाको दिन चीर दाह गरेर समाप्त गरिन्छ । यस समय विशेष गरेर जाडो समाप्त हुन्छ । किनकि शिशिर ऋतु समाप्त भई वसन्त ऋतुको आगमन भइसकेको हुन्छ । यसद्वारा सबै जनजीवनमा एक नयाँ आनन्द भरिएको हुन्छ । यस समय किसानहरूले आफ्नो बाली नाली भरखर भित्रयाएका र राम्रो बालीनाली भएको कारण बडा प्रशन्न रहन्छन् । ईश्वरसँग प्रार्थना गर्दछन् कि हजुर धन्य हुनुहुन्छ भनी यो होली पर्व खुसीका साथ तराई पहाड सबैतिर मनाउँदछन् ।यस पर्वको सुरुवात श्रीमद्भागवत् दशमस्कन्दको उत्तराद्र्धको अन्तिम अध्यायमा बताइए अनुसार भगवान् श्री कृष्णले आफ्नो महिषीहरूलाई रङ्क विरङ्कका पचकारी आदिबाट रङ्काइ दिनुभएबाट ती महिषीहरू आनन्दले विल भएर शरीर आदिको भाव रहित भएर श्रीकृष्णमय भएका थिए । त्यसै बेलादेखि यो पर्व प्रचलित भई मनाउँदै आएको भन्ने कुरा स्पष्ट देखिन्छ ।

यस होली पर्वबारे दुईवटा लोककथा प्रसिद्ध छन्– एक ढौण्डा राक्षसी र दोस्रो होलिका र प्रल्हाद ।ढौण्डा राक्षसीको बारेमा यस प्रकार कथन छ–सत्य युगमा पृथु नाम गरेका एक महान् र प्रतापी राजा थिए । उनको राज्यमा प्रजा हरतरहले सम्पन्न र सुखी थिए । अचानक राजा पृथुलाई यो समाचार प्राप्त भयो कि उनको राज्यमा ढौंण्डा नाम गरेकी राक्षसी आई बालकहरूलाई उठाएर लान थाली । जसले गर्दा राज्यमा ठूलो डर र आतङ्ग पैदा भयो । उसलाई मार्नका लागि विभिन्न किसिमको प्रयास गरियो तर मार्न सकिएन । तसर्थ राजा पृथु बडो चिन्तित हुनुभयो र तुरुन्त आफ्नो कुलगुरु वशिष्ठ मुनि कहाँ जानुभयो । राजाले आफ्नो गुरुसँग विनम्र भावले भन्नुभयो कि ढुण्ढा राक्षसी केही गरे पनि मर्दिन यसको कारण के हुन सक्दछ हजुरले मलाई सबै कुरा कृपापूर्वक बताइदिनुहोस् । उसबाट कसरी मुक्ति पाउँन सकिन्छ ताकि प्रजाहरू भय र आतङ्गबाट सदाको लागि आनन्दित रहुन् ।वशिष्ठ मुनि महान् योगी हुनुहुन्थ्यो । उहाँले तत्काल ध्यान लगाएर हेर्नुभयो र भन्नुभयो, हे राजा यस राक्षसीलाई भगवान् शङ्गरले वरदान दिनुभएको छ । ऊ कुनै पनि प्रकारले मर्दिन तापनि एउटा उपाय छ सो गर्नुपर्दछ । फागुन शुक्लपूर्णिमाको दिन एक उत्सव गर्नु उक्त उत्सव शहरको बीच भागमा होवोस तथा वहाँ एक अग्नि कुण्ड बनाउनु जसमा दाउरा गुईंठा राखेर आगो बाल्नू । आगो बालेपछि सवै जनता आगोको वरिपरि रहेर गाउनु, हाँस्नु र नाँच्नु । यसो गर्नाले ढौण्ढा राक्षसी भाग्दछे र फेरि कहिले पनि यस ठाउँमा आउँदिन । राज पृथुले वशिष्टजीले बताएमुताबिक पुरा आयोजना गर्नुभयो । यसको प्रभावले गर्दा राक्षसी भागेर गई साथै फेरि कहिले पनि फर्केर आइन । त्यसवेलादेखि यो पर्व मनाउँदै आएको हो ।