यस वर्षको एसइइ परीक्षामा ५ लाख विद्यार्थी सहभागी हुदैँ : छात्र भन्दा छात्राको संख्या धेरै

प्रकाशित मिति:

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा झन्डै ५ लाख विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका उप नियन्त्रक चेतनाथ शर्माका अनुसार यस वर्षको एसईई परीक्षामा ४ लाख ७४ हजार ९ सय ८७ जना विद्यार्थी सहभागी हुने भएका छन्, जसमा छात्रभन्दा छात्राको संख्या बढी छ ।”

उनले दिएको जानकारी अनुसार परीक्षामा २ लाख ३८ हजार ५ सय ४८ छात्रा तथा २ लाख २६ हजार ४ सय ३९ छात्र परीक्षामा सहभागी हुने भएका छन् । त्यसैगरी ग्रेडवृद्धितर्फ करिब १ हजार ५ सय १० विद्यार्थीहरुले परीक्षा दिने लागेकाे अनुमान गरिएकाे छ भने पुरानै पाठ्यक्रममा आधारित भएर लगभग १ हजार जना परीक्षार्थीले परीक्षा दिने अनुमान गरिएकाे उनले बताए ।

यसवर्ष प्राविधिक धारतर्फ लगभग झण्डै १२ हजार विद्यार्थीले एसईई परीक्षा दिने भएका छन् । यसवर्ष सातवटै प्रदेशमा गरी कुल १ हजार ९ सय ३९ परीक्षाकेन्द्र तोकिएको छ । जसमा प्रदेश १ मा ३ सय ६२, प्रदेश २ मा २ सय ६२, प्रदेश ३ मा ४ सय १८ परीक्षा केन्द्र तोकिएको छ । त्यसै गरी प्रदेश ४ मा २ सय १७, प्रदेश ५ मा ३ सय २३, प्रदेश ६ मा १ सय ६९ र प्रदेश ७ मा २ सय ८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्रदेश अनुसार फरक–फरक प्रश्न पत्र आउने भएकाले सबै विषयको प्रश्नपत्रको काम पूरा भईसकेको उनको भनाइ छ ।