होली पर्व आज तराईमा हर्षोल्लासका साथ मनाइदै

प्रकाशित मिति:

तराईका अधिकांश जिल्लामा आज होली पर्व हर्षोल्लासका साथ मनाइदैछ । उपत्यका लगायत पहाडी जिल्लामा हिजो होलि मनाइए पनि तराईका जिल्लाहरुमा भने आज धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । होली पर्वको अवसरमा आफूभन्दा ठूला मान्यजनवाट रङ्ग, अबिर लगाएर मिठो मसिनो खाने र आर्शिवाद लिने गरिन्छ । पछिल्लो समय घरवाट वाहिर रहेका आफ्ना आफन्तबीच भेटघाट हुने पर्वका रुपमा पनि यो पर्व चिनिन थालेको छ ।

यस्तै तराईका अधिकांश जिल्लामा यस पर्वमा मट्का फोर कार्यक्रमको आयोजना गर्ने गरिन्छ । यो कार्यक्रममा झुण्ड्याइएको माटोको भाँडा युवाको समूहले सामूहिक रुपमा फुटाउने गर्दछन् । माटोको भाँडा फुटाउने युवाहरुलाई आयोजकले पुरस्कार स्वरुप खाने कुरा, रुपैंया पैसा समेत दिने गर्दछन् । यो परम्परा पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गएको छ ।