दुर्घटनामा ज्यान गुमाएका चालकको शव उठेन

प्रकाशित मिति:

ओखलढुंगा – बुधबार मानेभञ्ज्याङ गाउँपालिकामा भएको एक्स्काभेटर दुर्घटनामा ज्यान गुमाएका चालकका परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नहुँदा आफन्त र स्थानीयले शव उठाउन मानेका छैनन् ।मृतकका परिवारले शव उठाउन नमान्दा शव पोस्टमर्टम तथा दाहसंस्कारसमेत हुन सकेको छैन ।

सोलु करिडोरको विद्युत प्रसारण आयोजनाको पोल निर्माणका क्रममा एक्स्काभेटर दुर्घटना हुँदा चालक सुनकोशी गाउँपालिका ४ का १८ वर्षीय जीवन श्रेष्ठको ज्यान गएको थियो ।

दुर्घटनापछि आफन्त र स्थानीय क्षतिपूर्ति नपाएसम्म शव उठाउन मानेका थिएनन् । बिहीबार साँझसम्म स्थानीय, पीडित परिवार र सरोकारवालाबीच जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा छलफल भइरहेको स्थानीय नबराज खड्काले बताउनुभयो । खड्काका अनुसार क्षतिपूर्ति कसरी दिलाउने भन्ने विषयमा छलफल भइरहेको छ । क्षतिपूर्तिको सहमति भएपछि मात्रै शव पोस्टमर्टम गरिने खड्काले जानकारी दिनुभयो ।मंगलबार साँझ करिडोरको टावर पोल निर्माण स्थल खन्ने क्रममा ना १ क ७७९४ नम्बरको एक्स्काभेटर दुर्घटनामा परेको थियो । दुर्घटनासँगै हराइरहेका चालकको शव बुधबार बिहान फेला परेको थियो । आयोजनाका प्रतिनिधि र सरोबारवाला राखेर सहमति गरिने प्रहरीले जनाएको छ ।