कोरियाली भाषा परीक्षाको फारम खुल्यो, घरमै बसेर पनि भर्न सकिने

प्रकाशित मिति:

काठमाडौँ -रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षाको आबेदन फारम आज ९शुक्रबार देखि खुलेको छ।आगामी जेठमा हुने परीक्षामा सहभागी हुनका लागि आजदेखि खुलेको फारम यहि चैत १७ गतेसम्म भर्न पाइनेछ। उक्त आवेदन १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले दिन सक्नेछन्।

यसपटक ग्लोबल आईएमई बैंकको अनलाइन तथा आईएमई–पे र ई–सेवामार्फत रकम भुक्तानी गर्न सकिने भएकाले लाइनमा नबस्न ईपीएस शाखाले अनुरोध गरेको छ।घरमै बसेर अनलाइनमार्फत रकम भुक्तानी गर्न र आवेदन भर्न सकिने भए पनि ग्लोबल आईएमई बैंकको कीर्तिपुरलगायत शाखामा बिहीबार रातिदेखि नै युवाहरू लाइनमा बसेका थिए।भाषा परीक्षाका लागि इपिएस शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट अनलाइनमार्फत फारम भर्न सकिने छ। ग्लोबल बैंकमा रहेको एकाउन्टमा पैसा जम्मा गरेपछि दिइने नम्बरका आधारमा उक्त वेबसाइटमा मा लगइन गरेर अनलाइनबाटै फारम भर्न सकिन्छ। परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिने जनाइएको छ।

आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ। दरखास्त दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ। पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन्।यसैबीच, कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साविकको कोटा यस पटकदेखि बढेको छ। सन् २०१९ का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ।