रुपन्देही सुपर लिग,उपाधिका लागि खुकुरी र शिवशक्ति भिड्ने

प्रकाशित मिति:

भैरहवा -शिवशक्ति क्रिकेट क्लब भैरहवा र साविक विजेता लुम्बिनी खुकुरी क्लब बेलहिया सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा शिवशक्तिले देवदह क्रिकेट युनिट देवदहलाई ५ विकेटले पराजित गर्दै फाइनल पुगेपछि उसले उपाधिका लागि खुकुरीसँग प्रतिस्पर्धा गर्ने भएको हो । उपाधिका लागि शनिबार स्पर्धा हुनेछ ।शुक्रबार भएको सेमिफाइनलमा जितका लागि देवदहबाट पाएको १ सय ८६ रनको लक्ष्य शिवशक्तिले निर्धारित ५० ओभरको खेलमा ३६.३ ओभरमा ५ विकेट क्षतिमा १ सय ८८ रन बनाउँदै पुरा गर्यो । उसका लागि कृष्ण कार्की र मनोज सुनारले नटआउट क्रमशः ६० र ४५ रनको योगदान गरे । यस्तै, सिद्धान्तराज शाहीले २४ रन बनाए । बलिङमा देवदहका प्रेम श्रेष्ठले २ तथा सुरज खड्काले १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको देवदहले ७ विकेट क्षतिमा १ सय ८५ रन बनाएको थियो । उसका लागि प्रेम श्रेष्ठले ४६, विनित कार्कीले ३० तथा कीर्तिमान ढकालले २२ रन बनाए । बलिङमा शिवशक्तिका कृष्ण पराजुली र अख्तर हुसेनले २÷२ तथा सिद्धान्तराज शाही, हरजित सिंह र विष्णु कटरियाले समान १–१ विकेट लिए । खेलमा कृष्ण कार्की म्यान अफ द म्याच घोषित भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।लिगको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् ।