जथाभावी बोल्दै गए पार्टी भड्खालोमा पर्छ : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेताहरुले जथाभावी बोल्दै गए पार्टी भड्खालोमा पर्ने चेतावनी दिएका छन्

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेताहरुले जथाभावी बोल्दै गए पार्टी भड्खालोमा पर्ने चेतावनी दिएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेसनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा नेता थापाले महामन्त्री शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाए । पार्टीको जिम्मेवार नेताहरुले पार्टीको छलफलहरुमा केही नराख्ने तर, खुला छलफलमा गएर यो विषयमा जनमत संग्रह गरौं, त्यो विषयमा जनमत संग्रह गरौं भन्ने हो भने पार्टी ठूलो भड्खालोमा लिएर जान्छ’ थापाले भने, ‘यो नगरौं । केकेमा डिपार्चर गर्नु पर्ने हो, पार्टीमा छलफल गरौं । कोइरालाले बुधबार धर्मसँगै गणतन्त्र र संघीयताबारे जनमत संग्रह गर्न कांग्रेस तयार रहेको बताएका थिए । तर, भोलिपल्टै चितवनमा पुगेर बोली फेरेका छन् । केन्द्रीय सदस्य थापाले भने, ‘ऐतिहासिक संविधान बनेकोमा गौरब गर्छौं भनेर सुरु गर्ने । तल गएर केके लेख्यौं केके लेख्यौं भन्दा त अस्ती सभापतिले भनेको जस्तो हुन्छ, यो सम्झौताको विरोध गर्छु, पढ्न चाहिँ पढेको छैन । यसो नगरौं ।’गिरिजाप्रसाद कोइरालाले लिएको सहमति, सहकार्य र एकताको सुत्र पार्टीमा आवश्यक रहेको उनले बताए । तर, सहमति विधानमा टेकेर मात्र खोज्नुपर्ने उनले बताए । कार्यक्रममा नेता शेखर कोइरालाले सरकारमाथि संघीयता समाप्त पान काम गरिरहेको आरोप लगाए ।