अवैध लागुऔषध बरामद

प्रकाशित मिति:

धादिङ-पृथ्वीराजमार्गको नाकाबाट लुकाएर ल्याउँदै गरेको १ सय ६४ किलोग्राम अवैध लागुऔषध चरेश प्रहरीले शुक्रबार गजुरीबाट बरामद गरेको छ ।काठमाण्डौबाट भारततर्फ जान लागेको ट्रकको क्याबिनमा ८ ओटा बोरामा हालेर लुकाएर राखिएको भारतीय नम्बर प्लेटको यू पी १९ टी ५१७१ नम्बरको ट्रकबाट लागुऔषधसहित भारत उत्तर प्रदेश निवासी २५ वर्षीय मौ महातपलाई हिरासतमा लिइएको छ ।

गाडी समेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।काठमाण्डौबाट भारततर्फ जान लागेका सवारी साधन बढी प्रयोग गरिने र सवारी साधनले फल्स बटन बनाइ लुकाइ छिपाइ लाने गरेकोले कडा जाँचपछि यसरी लागुऔषध समातिएको प्रहरीको भनाइ छ ।गजुरी र यसको आसपासको क्षेत्र राजमार्गसम्म ल्याउने वा काठमाण्डौबाट पृथ्वीराजमार्गको बाटो हुँदै निकासी गर्न सजिलो हुने भएपछि कारोबार गर्नेहरुले पृथ्वीराजमार्ग प्रयोग गर्ने गरेको पाइएको छ ।

शुक्रबार पक्राउ परेकोसमेत गरी ३ ओटा भारतीय ट्रक, एउटा नेपाली बस र २ नेपाली मोटरसाइकलसमेत बरामद गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीको सक्रियता, निगरानी र कडाइपूर्ण जाँचले गर्दा लागुऔषध बरामद गर्न सकिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख तथा प्रहरी निरीक्षक नवराज ढुंगेलको भनाइ छ ।