सुहानाको नाममा गरे अनमोलले तमसुक

प्रकाशित मिति:

यही चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ३’ को दोस्रो गीत युट्युब रिलिज भएको छ । ‘जिन्दगी नै भन्दिनँ’ बोलको गीतले लोकप्रियता हासिल गर्दैगर्दा सार्वजनिक गरिएको ‘परान’ बोलको गीतमा आशिष अविरल र अञ्जु पन्तको स्वर छ । गायक अविरलकै शब्द तथा संगीत रहेको गीतको भिडियो निकै आकर्षक ढंगले तयार गरिएको छ ।

अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा गीतको भिडियोमा फिचर्ड छन् । दुईलाई टिपिकल नेपाली पहिरनमा देख्न सकिन्छ । सम्भवतः पहिलो पटक फिल्ममा अनमोलले ढाकाटोपी र दौरा सुरुवाल लगाएका हुन् । सुहानासँग उनको जोडी कमालको देखिएको छ । यो गीतले फिल्मको हाइप निर्माणमा ठूलो भूमिकाका खेल्ने निर्माण पक्षको विश्वास छ ।

फिल्म ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेका हुन् । यही फिल्मको दोस्रो भागबाट उनले निर्देशनमा डेब्यू गरेकी थिइन् । सुहाना उनकै छोरी हुन् । सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसमा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ ।
निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् । फिल्ममा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् ।