कुखुराको दुई सय किलो अवैध मासु नष्ट

प्रकाशित मिति:

पर्वत – छिमेकी जिल्ला कास्कीबाट बसमा लुकाएर भित्राउँदै गरेको अवस्थामा पर्वत प्रहरीले भेटाएको २ सय किलो कुखुराको अवैध मासु शनिबार नष्ट गरेको छ ।पोखरामा बर्डफ्लू देखिएपछि साविकको धौलागिरी क्षेत्रमा कुखुरा आयातमा रोक लगाइएको थियो । रोक लागेपछि व्यवसायीले तयारी मासु बोरामा लुकाएर आयात गरेको पाइएको हो ।साविक धौलागिरी अञ्चलको प्रवेशबिन्दु पर्वतको डिमुवामा बसमा जाँच गर्दा शुक्रबार दिउँसो बोरामा लुकाएर ल्याउँदै गरेको छ बोरा तयारी मासु जफत गरिएको हो ।

ना ६ ख ७१८० नम्बरको बसमा लुकाएर बिक्रीका लागि मुस्ताङ्ग लैजादै गरेको मासु डिमुवामा प्रहरीले जफत गरेको हो । पोखराबाट बिक्रीका लागि लैजाँदै गरेको २ सय किलो भन्दा बढी मासु जफत गरेर शनिबार नष्ट गरिएको पर्वत प्रहरीले जानकारी दिएको छ । जफत गरिएको मासु मोदी गाउँपालिकाका जनप्रतिनिधि, पशु प्राविधिक र प्रहरीको रोहबरमा नष्ट गरिएको छ ।केही दिन यता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वत सहित धौलागिरीका बागलुङ्ग, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयतमा रोक लगाइएको थियो । पोखरा– बागलुङ्ग सडकको धौलागिरी प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र प‌ंक्षीजन्य बस्तुहरु आयतमा रोक लगाइएको कुस्मा नगरपालिकाका पशु चिकित्सक राम्जिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कास्की, चितवन, मकवानपुर लगायतका जिल्लामा कुखुरामा बर्डफ्लू भेटिएपछि यस क्षेत्रमा रोग फैलन नदिन आयतमा रोक लगाइएको पशु चिकित्सक पौडेलको भनाइ छ ।बुधबार मात्रै चितवन र पोखराबाट कुखुरा बोकेर आएका दुई वटा गाडी डिमुवाबाट सम्बन्धित क्षेत्रमा फिर्ता पठाइएको थियो । कुश्मा र म्याग्दी तथा जोमसोम तर्फ बिक्रीका लागि लैजाँदै गरेका कुखुरा नियन्त्रणमा लिएर फिर्ता पठाइएको थियो ।कास्कीमा बर्डफ्लू देखिएपछि पर्वत सहितका छिमेकी जिल्लाहरु पनि उच्च जोखिममा रहेका छन् । छिमेकी जिल्लाबाट पंक्षीजन्य उत्पादनहरु बिक्रीका लागि ल्याउन केही समयका लागि नदिने र यस क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।