एसईई दिन पुगेकी शान्ता चौधरीले विद्यार्थीसँग सिकाइ मागेपछि…

प्रकाशित मिति:

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टीकी सचेतक एवं प्रतिनिधिसभा सांसद शान्ता चौधरी इसइई परीक्षामा सहभागी भएकी छन् । दाङको तुलसीपुरस्थित मावि सेन्टर स्कुल चौधरीको सेन्टर हो । दुई वर्षअघि कक्षा ८ मा भर्ना भएकी उनी कमलरीदेखि सभासदसम्मकी लेखिकासमेत हुन् । उनले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित महेन्द्र माध्यामिक विद्यालयमा खुल्लातर्फबाट एसइई परीक्षा दिन लागेकी छन् । यो वर्ष दाङमा खुल्ला तर्फ २ सय ८ जना विद्यार्थीले परिक्षार्थी छन् । १ सय १५ जना छात्र र ९३ जना छात्राहरु रहेका छन् । त्यसमध्ये एक जना परिक्षार्थी चौधरी पनि हुन् ।

परीक्षाहलमा प्रवेश गर्नुपूर्व सांसद चौधरीले बाल्यकालको सपना पुरा हुन लागेको भन्दै खुसी साटिन् । बाल्यकालमा विद्यालय जान निकै तड्पिएको भएपनि आज त्यो सपना पुरा हुन थालेको उनले बताइन् । ‘मेरो जीवनमा पढाईको अभाव निकै खड्कियो । पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन,’ शान्ताले भनिन् । कुनैपनि मान्छे कुनैपनि कुरामा पूर्ण नहुने हुँदा नजानेको कुरा सिक्नु सामान्ने प्रक्रिया भएको उनले बताइन । ‘नतिजा कस्तो आउँछ त्यो अनुरुपले मेरो आगाडि यात्रा अगाडि बढ्छ,’ शान्ताले थपिन ‘ मेरो लक्ष्य त बुढेसकालमा पिएचडी गर्ने ।’

सांसद शान्ता र उनकी १७ बर्षीया छोरी विनु चौधरीले एकै साथ एसइई परिक्षा दिन लागेका छन् । विनु काठमाण्डुको आरुवारीस्थित सृजना बाल बोर्डिङ बाट परिक्षा दिदै छिन् । शान्ताका छोरा अनिल चौधरी जेभियर्समा कक्षा १२ मा अध्यनरत छन् । सेन्टर मावि तुलसीपुर बाट परिक्षा दिइरहेकी शान्ताको बेञ्चमा १७ बर्षीय खगेन्द्र विष्ट छन् । हलमा बसेपछि शान्ताले ठट्टा गर्दै भनिन् ‘लौ तपाँई त मेरो छोराकै उमेरको हुनुहुँदो रहेछ, जान्नुहुन्छ होला मलाई पनि सिकाइ दिनुस है ।’ स‌ंविधानसभाभित्र प्रवेश गर्दा कतिपयले आफुलाई लक्षित गरी औठाछापेले के संविधान बनाउला भनेको सुनेको उल्लेख गर्दै यसैले पढ्न उत्साहित बनाएको उनले बताइन् ।