यसकारण फेल हुन सक्छ प्रत्यारोपण गरिएको अंग

१० चैत्र २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – अनुसन्धानकर्ताहरूले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली र प्रत्यारोपण गरिएका अंग अस्वीकार गर्ने कोषको सक्रियताबारे नयाँ तथ्य पत्ता लगाएका छन्। यी कोषको सक्रियता र प्रतिरक्षा प्रणालीसँगको सम्बन्धबारे यसअघि थाहा पाइएको थिएन।

नयाँ तथ्यले वैज्ञानिकहरूलाई जीवन रक्षक ‘टिस्यु’ प्रत्यारोपण गर्दा शरीरको प्रतिरक्षा प्रणालीले गर्ने प्रतिरोधको नयाँ उपचार विधि विकास गर्न सहज बनाउनेछ। नयाँ उपचार विधि विकास गर्न सके प्रत्यारोपणको घाउ खुला राख्दा संक्रमण र क्यान्सर हुने जोखिम पनि न्यून हुनेछ। युनिभर्सिटी अफ पिट्सवर्गका वैज्ञानिकहरूले हाडमा हुने एउटा बोनम्यारो कोष ‘सिग्नल रेगुलेटरी प्रोटिन अल्फा’ (एसआइआरपी अल्फा) पत्ता लगाएका छन्। वैज्ञानिकका अनुसार यो ‘रिसेप्टर’ कोष हो र यसले शरीरमा सुरक्षा गार्डको काम गर्छ।

यसले शरीरमा कुनै बाहिरी कोष प्रवेश भए वा आक्रमण/संक्रमण हुनासाथ तत्काल पत्ता लगाएर प्रतिरक्षा प्रणाली सक्रिय पार्ने र बाहिरी कोष नष्ट गर्न ‘लिम्फोसाइट’ (विभिन्न प्रकारका सेतो रक्त कोषमध्ये एक) पठाउने काम गर्छ।

अर्थात् सजिलो भाषामा भन्नुपर्दा जब हामी अरुको शरीरबाट कुनै कोष वा टिस्यु लिएर हाम्रो शरीरमा हाल्छौँ, सेता रक्तकोषले ती कोषलाई शत्रुका रुपमा वा बाहिरी संक्रमण/आक्रमणका रुपमा लिन्छन् र त्यस्ता कोषलाई नष्ट गर्ने प्रयास गर्छन्। हो, कुनै टिस्यु वा अंग प्रत्यारोपण गर्दा हाम्रो शरीरको यही रोग प्रतिरोध क्षमता नै बाधक बन्छ। र सुन्निनु तथा ज्वरो आउनु पनि यही रोग प्रतिरोध प्रणालीको प्रतिक्रियाकै कारण हुन्छ।

कुनै पनि कोषको सतहमा ‘एमएचसी’ (मेजर हिस्टोकम्प्याटिबिलिटी कम्प्लेक्स) नामको प्रोटिन हुन्छ। बाहिरी संक्रमण/आक्रमणबाट शरीरको सुरक्षा गर्ने सेतो रक्तकोषले शरीरमा प्रवेश गरेको नयाँ कोष/टिस्युको एमएचसी फरक भएको पत्ता लगाउँछ र तत्काल त्यो कोष/टिस्यु नष्ट गर्ने प्रयास गर्छ। विभिन्न प्रकारका सेतो रक्तकोषमध्ये ‘टी लिम्फोसाइट’मा त्यस्ता फरक एमएचसी प्रोटिन पत्ता लगाउने स्नायु तन्तु (रिसेप्टर) हुन्छ र फरक एमएचसी पत्ता लगाउनसाथ बाहिरी कोष/टिस्यु नष्ट गर्ने काम थाल्छ।

तर, यी लिम्फोसाइटले पनि जन्मजात नै भित्री र बाहिरी कोष/टिस्यु पत्ता लगाउन जानेका हुँदैनन्। तिनलाई हाम्रो शरीरको रोग प्रतिरोध प्रणालीमा रहेका ‘डेन्ड्राइट’ कोषले बाहिरी कोष/टिस्युको एमएचसी पत्ता लगाउन सिकाउँछन्।

यी डेन्ड्राइट कोषले पनि कसरी बाहिरी कोष/टिस्यु पत्ता लगाउँछन् अहिलेसम्म खोजीकै विषय छ। यसबारे थाहा पाउन अनुसन्धानकर्ताले मुसामा टिस्यु प्रत्यारोपण गरे र त्यो मुसामा रहेका सेता रक्तकोषबाट टी लिम्फोसाइट हटाइदिए। अनुसन्धानमा उनीहरूले अब टिस्युदाता मुसा र टिस्यु लिने मुसाको ‘एसआइआरपी अल्फा’ वंशाणु र रोग प्रतिरोध प्रणालीबीच समन्वय भएको पाए। एसआइआरपी अल्फा प्रोटिनले अर्को प्रोटिन ‘सिडी ४७’ लाई बाँधेर राख्छ भने सिडी ४७ ले रोग प्रतिरोध प्रणालीमा विभिन्न सेता रक्तकोषलाई सक्रिय पार्छ।

यसबाट अनुसन्धानकर्ताले के थाहा पाए भने, डेन्ड्राइटमा विकसित हुने अर्को सेतो रक्तकोष ‘मोनोसाइट्स’ले एसआइआरपी अल्फा रिसेप्टरसँग बाहिरी कोष/टिस्युबारे सूचना प्रवाह गर्छ र त्यस्ता कोषको पहिचानसम्बन्धी सबै प्रक्रिया तथा ‘एलर्ट सिस्टम’लाई पूरै निष्क्रिय बनाइदिन्छ। ‘मोनोसाइट’ हाडमा निर्माण हुन्छ र रगतमा मिसिन्छ। ‘एकपटक यी कोष सक्रिय हुनासाथ पूरै रोग प्रतिरोध प्रणालीलाई तत्काल सक्रिय पार्छन् र प्रत्यारोपण गरेका कोष/अंगको पूर्ण रुपमा बहिष्कार सुरु हुन्छ,’ युनिभर्सिटी अफ पिट्सवर्गका प्रमुख अनुसन्धानकर्ता फडी जी लकिस भन्छन्, ‘अब हामी अंगदाता र अंग फेर्ने दुवै जनाको एसआइआरपी अल्फा अनुक्रम मिलाउनतर्फ लाग्छौँ। त्यसपछि यस्तो ‘मिस्म्याच’ले अंग प्रत्यारोपण फेल हुन्छ/हुँदैन हेर्छौं।’

अंगदाता र अंग फर्ने दुवै जनाको एसआइआरपी अल्फा वंशाणु म्याच भए प्रत्यारोपण गरिएको अंग फेल नहुने जोखिम न्यून हुन्छ। प्रत्यारोपणका लागि एमएचसी प्रोटिन म्याच भएकै अंग छाने पनि कोषका सूक्ष्म फरक हुनासाथ अंग बहिष्कार गर्न पूरै रोग प्रतिरोध प्रणाली सक्रिय हुने गर्छ। उदाहणका लागि म्याचपछि नै गरिने मुटुका १० प्रत्यारोपणमध्ये एउटा र मिर्गौलाका २० प्रत्यारोपणमध्ये एउटामा प्रत्यारोपण बहिष्कारको लक्षण देखिन्छ।

बहिष्कारबाट जोगिन अंग प्रत्यारोपण गर्ने व्यक्तिले रोग प्रतिरोध प्रणालीलाई सक्रिय हुन नदिन निरन्तर उपचार गराइरहनु आवश्यक छ। यसो गर्दा उनीहरूमा संक्रमण र क्यान्सरको जोखिम धेरै बढ्छ। साथै यसबाट रक्तचाप बढेर हृदयघात र मस्तिष्कघातको जोखिम पनि बढ्छ। एसआइआरपी अल्फा वंशाणुकेन्द्रित नयाँ उपचार विधिले रोग प्रतिरोध प्रणाली निस्क्रिय बनाउने औषधि सेवनको मात्रा वा प्रकार घटाउन र प्रत्यारोपण गरिएका अंगको आयु बढाउन सघाउन सक्छ।

(यो अनुसन्धान साइन्स इम्युनोलोजीमा प्रकाशित छ)

फेसबुकबाट तपाईको प्रतिक्रिया