एसईई अनुगमन गर्दै मन्त्री साहले भने– चिट चोराउनु आफ्नै बच्चाको हत्यासरह हो

प्रकाशित मिति:

जनकपुर – देश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले एसईई परीक्षा अनुगमन गरेका छन् । उनले जनकपुरका संकटमोचन मावि, सरस्वती मावि लगायतका विद्यालय अनुगमन गरेका हुन् । अनुगमन सकेर सञ्चारकर्मीसँग कुरा गर्दै साहले प्रदेशभित्र मर्यादित रुपमा परीक्षा सञ्चालन भैरहेको बताए । उनले चिट पु¥याएर अभिभावकले विद्यार्थीलाई सहयोग गर्नु आफ्नो बच्चालाई हत्या गरेसरह हुने बताए । ‘२० वर्ष नपुगी विहे गरिदिएर अभिभावकले जसरी छोरीको भविष्यसँग खेलवाड गर्छन त्यसैअनुरुप परीक्षामा चोरी गर्न सहयोग गरेर आफ्नै बच्चाको हत्या गर्दैछन्,’ उनले भने ।

मन्त्री साहले विद्यार्थीको पढाइलेखाइमा सहयोग गर्न अभिभावकलाई आग्रह गरे । ‘म अभिभावकहरुलाई निवेदन गर्न चाहन्छु चोरी नगराइदिनुस बच्चा चोरी गरेर पास भए जिवनभर तपाईहरुकै बोझ बन्छ, उनीहरुको जीवन बबार्द हुन्छ,’ उनले थपे ।

प्रदेश २ का परीक्षामा चोरी र धाँधली हुने गरेको भन्दै बदनाम भइसकेकाले प्रदेश सरकार चोरी नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको उनले बताए । सत्ताधारीहरुले पञ्चायतकालदेखि नै मधेसीका बच्चा पढेर रोजगारीको अवसर पाउने भन्दै डरले मधेसका विद्यार्थीहरुलाई परक्षिामा चोरी गर्न सिकाएर विद्यार्थीको जीवन बर्बाद गरेको उनले अरोप लगाए । विद्यार्थी पढेर पास नगरुन्जेल रोजगारीको समस्या रहिरहने भन्दै उनले प्रदेश २ का विद्यार्थीमा जहाँ गएपनि राम्रो प्रतिष्पर्धा गर्ने क्षमता होस भन्ने प्रदेश सरकारको चाहना रहेको बताए । मन्त्री साहले गाउँदेखि सहरसम्मका अभिभावकले चेतना अभावमा आफ्नै बच्चालाई चोरी गराउन आतुर हुने बानी पुर्णतः समाप्त नभएपनि विस्तारै सुधार हुँदै गएको दावी गरे । शिक्षक र अभिभावक सचेत नभए चोरी हुन्छ, नियन्त्रणका लागि हामी लागेकै छौँ ।’ उनले भने, ‘शिक्षाको स्तर उकास्ने जिम्मेवारी अब प्रदेश सरकारको छ यसका लागि हामी प्रयासरत छौँ ।’ परीक्षा मर्यादित बनाउन प्रदेशका अन्य मन्त्रीहरु लगायत परीक्षा निर्देशक, प्रहरी, प्रशासन चुस्त रुपमा खटेको उनले बताए ।