जलवायु परिवर्तन र नागरिकमा पर्ने प्रभाव

प्रकाशित मिति:

पुनहरि बेल्बासे \ जलवायु परिवर्तनले गर्दा विश्वमा विविध प्रकारका वातावरणीय परिवर्तनहरू देखा परेका ज्वलन्त उदाहरणहरू छन् । समुद्रको पानीको सतहमा वृद्धि, विश्वव्यापी तापक्रममा वृद्धि, महासागरको पानीको तापक्रममा वृद्धि, मौसमको चरम अवस्थाहरू, हिउँ तथा हिमनदी पग्लने क्रममा वृद्धि, महासागर तथा समुद्रमा अम्लियपना बढ्दै जानु मानव सिर्जित हरितगृह ग्याँसको कारणले भएका जलवायु परिवर्तनका प्रमाणहरूका रुपमा लिन सकिन्छ । जलवायु परिवर्तनले भविष्यमा पनि धेरै नकारात्मक प्रभावहरू पार्ने देखिन्छ । जस्तै डँडेलो, खडेरी, आँधीबेहरीको अवधी र तीब्रतामा बृद्धि, तुसारो रहित ऋतु, वर्षा प्रकृयामा परिवर्तन आदि यसका नकारात्मक प्रभावहरू हुन् । सन् २०१२ मा नेपालले आयोजना गरेको जलवायु परिवर्तन सम्बन्धी पर्वतीय राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई पर्वतीय मुलुकहरूका जलवायु परिवर्तन सम्बन्धी विविध पक्षहरू सम्बोधनका लागि गरिएको एउटा महत्वपूर्ण कदमको रुपमा लिन सकिन्छ । आजको विश्वका प्रमुख तीन चुनौती मध्ये तेस्रो चुनौती जलवायू परिवर्तन हो । आतंकबाद र भोकमरी तथा पिउने पानीको अभाव क्रमशः पहिलो र दोश्रो चुनौती हुन् । मानवीय क्रियाकलाप जलवायू परिवर्तनको प्रमुख कारण हो ।

प्राकृतिक रुपमा हुने जलवायू परिवर्तन भने एक सामान्य प्रकृया हो । मानवीय परिवर्तनसँगै जलवायूमा परिवर्तन भईराखेको अवश्थामा जलवायू परिवर्तन न्युनिकरण गर्न स्वयं मानव नै परिवर्तन हुनु जरुरी छ । कुनै क्षेत्रको लामो अवधिको (सरदर ३० वर्षको) मौसमको सरदर अवस्था जलवायु हो । पृथ्वीको सतहको औषत तापक्रम १५ डिग्री सेल्सियस रहेको छ । यदि हरितगृह प्रभाव नभएको भए पृथ्वीको सतहको औषत तापक्रम माईनस १८ डिग्री सेल्सियस हुने थियो । हरितगृह प्रभावको कारणले मात्र पृथ्वीमा जिवको सम्भव भएको हो । गरीब तथा अविकसित देश भित्र त्यस देशका गरीब परिवारहरु जोखिममा पर्दछन् । तराईमा बाढि आउँदा सामान्य घर हुनेहरु दुई वा तिन तले घर हुनेहरु भन्दा पहिला डुब्ने हुन् । पहाडमा खडेरी पर्दा गैरी खेत (सिंचाई सुविधा भएका) भएका परिवार भन्दा आकाशको पानीको भरमा खेती हुने जग्गा मात्र भएका परिवारहरु पहिला जोखिममा पर्दछन् । पहाडको भिरालो जमिनको मल तथा माटोको पोषणतत्व बर्षामा कहिलेकाहिँ आउने तर चरम आउने वर्षाले बगाएर लैजादा माटोको उर्वराशक्तिमा ह्रास आएको छ । बैशाखको पहिलो हप्ता छर्नु पर्ने मकै पहाडमा पानी नपरेर कहिले जेष्ठको पहिलो हप्ता, कहिले असार, कहिले चैत्रमा छर्नु पर्ने बाध्यता छ । समयमा मनसुन नहुँदा तराईमा धानको विउ ब्याडमै फुलाउनु पर्ने बाध्यता छ, ठूलो मात्रामा खेत बाँझै राख्नु पर्ने बाध्यता छ । देशको जनसङख्याको ६६ प्रतिशत कृषि पेशामा आबद्ध छन् । खेतीयोग्य जमिनको तिन चौथाई क्षेत्रफल मनसुनको भरमा खेती गरिन्छ । पहाडका अधिकांश खेतीयोग्य जमिन बाँझै रहने र जलवायू परिबर्तनको कारण पहाडबाट बसाईसराईको गती बढ्न सक्ने देखिन्छ । यहाँको भौगोलिक बनावट धेरै नै जटिल र संवेदनशील भएकोले नेपाल जोखिमपूर्ण देशको सुचीमा गनिन्छ । मेपलक्राफ्ट नामक संस्थाले २०१२ मा प्रकाशित प्रतिवेदनमा नेपाल जलवायु परिवर्तनका कारण विश्वमै चौथो संकटग्रस्त मुलुक हो । हिमालय क्षेत्रको तापक्रम विश्वको सरदर वृद्धिभन्दा धेरै उच्च दरमा बढिरहेको छ । जसको प्रत्यक्ष प्रभाव देशको हिमतालमा पर्छ जुन हाम्रो देशको पानीको मुख्य स्रोत हो । नेपालमा करिब ३२५३ हिमनदीहरु र २३२३ हिमतालहरु छन् । जसमा लगभग ६७ प्रतिशत हिमनदीहरुको आकारमा परिवर्तन आइसकेको छ । हिमालमा रहेको हिउँ यसरी छिटो छिटो पग्लिनाले हिमतालमा धेरै पानी जम्मा हुन जान्छ । परिणाममा हिमतालको बाँधले पानी थाम्न नसकेर हिमताल फुट्न जान्छ र ठूलो बाढी आउँछ । नेपालमा अहिलेसम्म केही हिमतालहरु फूटिसकेका छन् भने ४० भन्दा बढी फुट्ने खतरामा छन् । नेपालमा बाढीपहिरो भूक्षय खडेरी भोकमरी जस्ता दैवी प्रकोपको समस्या पहिलेदेखि नै रहिआएकोमा जलवायु परिवर्तनले यसलाई झन् जटिल बनाएको छ । अनियमित वर्षा बढ्दो तापक्रमले धेरै नै क्षय भएको छ । उच्च हिमाली भेगमा हिमनदी खुम्चिने, हिमताल बढ्ने र वृद्धि हुँदै जाने गति, हिमताल बिष्फोट हुने खतरा र हिम पहिरो मुख्य प्राकृतिक प्रकोप हुन । मध्य पहाडमा पहिरो, नदी तटमा बाढी आउने, भूक्षय र असामान्य खडेरी जस्ता प्रकोपहरु बढ्दै छन् । यसैगरी नदीमा पानीको सतह बढी खेत बस्ती डुबान हुने र खडेरी तराईमा देखा पर्न थालिसकेका छन् । तापक्रम बढ्नुको साथै वर्षा हुने तरिकामा परिवर्तनहरु देखापरेको छ । यी परिवर्तनको कारणले कहिले धेरै वर्षा हुने र कहिले कम वर्षा हुने समस्या हुन्छ । धेरै वर्षा हुने ठाउँमा बाढी पहिरो र भुक्षयको समस्या हुन्छ भने कम वर्षा हुने ठाउँमा सुख्खा खडेरी र पानीको मुहान सुक्ने समस्या उत्पन्न भइरहेका छन् । यसैगरी मौसम नै परिवर्तन हुन थालेपछि नेपाल जस्तो कृषिप्रधान देशलाई ठूलो असर पार्नेछ र पारिरहेको छ । आकाशे पानीमा भर पर्ने नेपालको कृषि प्रणालीमा वर्षायाममा हुने उतारचढावले धेरै नै प्रभाव पार्छ । जसले कृषि उत्पादनमा कमी आउँछ । यसैगरी मौसम र वर्षाको प्राकृतिक चक्रमा परिवर्तन हुँदा परम्परागत बाली चक्र असन्तुलित हुन जान्छ जसका कारण खाद्यान्न संकट हुन जान्छ । भोकभरीको ठूलो संकट निम्तिन सक्छ ।

ज्येष्ठ नागरिकका लागि कस्तो वातावरण हुनु पर्ने
वातावरणलाई नकारात्मक असर नपर्ने खालका बानीबेहोरा अपनाउनुपर्ने । ज्येष्ठ नागरिकले प्रयोगगर्ने साधन, लत्ता, कपडा, खाद्यान्न सामग्री आदि सबै वातावरण मैत्री हुनुपर्ने । यसो गर्नाले ज्येष्ठ नागरिकका कारण वातावरणमा नकारात्मक असर पर्दैन । वातावरण परिवर्तनका प्रकोपबाट ज्येष्ठ नागरिकलाई जोगाउन उचित प्रकारका कार्यक्रम, नीतिनियमको निर्माण गर्नुपर्ने जसले गर्दा ज्येष्ठ नागरिकलाई वातावरण परिवर्तनको प्रकोपबाट जोगाउन सकियोस । जस्तै, ज्येष्ठ नागरिकलगायत अरू सबै सम्बन्धित अधिकारीलाई आपतकालीन तालिम, वातावरणमा नकारात्मक असर नपर्ने खालका (वातावरणमैत्री) बानीबेहोरा अपनाउन जनचेतना अभिवृद्धि कार्यक्रम, प्राकृतिक प्रकोपबाट ज्येष्ठ नागरिकलाई कसरी जोगाउने भन्ने खालका कार्यक्रम, गोष्ठी आदि ।
वातावरण संरक्षणमा ज्येष्ठ नागरिकको सक्रिय सहभागिता  ज्येष्ठ नागरिक ज्ञान र सीपका खानी हुन् । उनीहरूको त्यो ज्ञान र सीपको उपयोग गरी वातावरण संरक्षणमा सघाउन सकिन्छ । त्यसका निम्ति ज्येष्ठ नागरिकलाई वातावरण संरक्षणका क्रियाकलापमा शारीरिक र मानसिक रूपले सहभागी हुन प्रोत्साहन गर्नु जरुरी हुन्छ । अन्तमा, जलवायु परिवर्तन विश्वकै लागि एउटा ज्वलन्त समस्याको रुपमा रहेको र यसले तत्काललाई विशेषतः अल्पविकसित र विकासोन्मुख राष्ट्रहरूलाई बढी प्रभाव पार्ने देखिन्छ । नेपाल पनि आर्थिक रुपमा गरिब, भौगोलिक रुपमा विकट अल्पविकसित राष्ट्र भएको हँुदा जलवायु परिवर्तनको प्रभाव बढी पर्ने हुन्छ तसर्थ उतm समस्याको समाधानका लागि ठोस एवम् समयानुकुल नीति, नियम एवम् अन्य कार्यक्रम तथा क्रियाकलापहरू तर्जुमा गरी जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरणका लागि स्थानीय स्तरसम्म अनुकुलनका कार्यक्रमहरू सञ्चालन गर्दै लैजानुपर्ने आवश्यकता छ ।