बारा र सप्तरीमा आगलागी, १४ लाखको क्षति

प्रकाशित मिति:

वीरगञ्ज । बारा र सप्तरीमा भएको आगलागीमा १४ लाख मुल्य बराबरको क्षति भएको छ ।बाराको देवताल गाउँपालिका र महागढीमाई नगरपालिका तथा सप्तरीको राजविराज नगरपालिकामा आगलागी भएको हो ।आगलागीबाट पशु चौपाया, अन्न, लत्ता कपडा, गर गहना लगायत गरी १४ लाख मुल्य बराबरको क्षति भएको २ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

आगलागीबाट बारा देवताल गाउँपालिका–५ बेनौली वस्ने गया साहको फुसले छाएको गोठ जलेर नष्ट भएको छ । विद्युतको तार शर्ट भई शनिवार राति अचानक आगो लाग्दा ५ वटा बाख्रा, २ वटा भैसीं जलेर मरेको छ ।त्यसैगरी आगलागीबाट गोठमा राखिएको १० क्वीन्टल धान, ना १४ प ३७०२ नम्वरको मोटरसाईकल समेत जलेको छ । आगलागीबाट साह परिवारको ५ लाख मुल्य बरावरको क्षति भएको अनुमान प्रहरी चौकी दक्षिणझिटकैयाको टोलीले गरेको छ ।त्यसैगरी बाराको महागढीमाई नगरपालिका–२ मा उखुबारीमा आगलागी भएको छ । आगलागीबाट १८ कठ्ठा जमिनमा लगाईएको उखु बाली नष्ट भएको छ ।

स्थानीय किशोरी साह तेलीले आफ्नो उखू खेतमा रहेको उखुको सुकेको पातमा आगो लगाउने क्रममा महालाल महत्तो मुखियाको ११ कठ्ठा, प्रभु साह तेलिको ४ कठ्ठा र बिल्टु बैठाको ३ कठ्ठामा लगाएको उखु खेतमा आगो सल्किएको बताए । आगलागीबाट २ लाख १० हजार मुल्य बरावरको क्षति भएको प्रहरी चौकी बरियारपुर, बाराले जनाएको छ ।त्यस्तै सप्तरीको राजबिराज नगरपालिका–१४ मा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । स्थानीय सुरेश मण्डलको टिनको छानो, इट्टाको गारो भएको दुई कोठे घरमा अचानक आगलागी हुदाँ घर र घर भित्र रहेको लत्ताकपडा, अन्नपात, भाडावर्तन, नगद ३ लाख, चाँदि ५० तोला र सुन १ तोला पुर्ण रुपले जलेर नष्ट भएको छ । आगलागीबाट ७ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।तीन वटै स्थानमा भएको आगलागी स्थानिय प्रहरी कार्यालयहरुबाट खटिएका प्रहरी टोली, स्थानियको सहयोगमा नियन्त्रणमा लिएको थियो ।