नेपाल जापान श्रम सम्झौतामा आज हस्ताक्षर हुदै

प्रकाशित मिति:

काठमाडौँ । बहुप्रतिक्षित नेपाल-जापानबीच श्रम सम्झौतामा आज सोमबार हस्ताक्षर हुँदै छ । नेपाल र जापानबीच श्रमिक आपूर्तिबारे सहकार्यको समझदारी एमओसी मा आज हस्ताक्षर हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जापानका सरकारी प्रतिनिधि र नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच आज काठमाडौँमा हस्ताक्षर हुन लागेको हो । नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले एमओयूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमका लागि जापानको श्रम मन्त्रालयका अधिकारीसमेत नेपाल आइसकको मन्त्रालयले जनाएको छ । नेपालस्थित जापानी राजदूतले हस्ताक्षरसहितको एमओसी श्रमसचिवसामु पेस गर्ने बताइएको छ । दुई देशबीच हुने श्रम सम्झौताको ड्राफ्ट यसअघि नै तयार भइसकेको थियो । जापानले केही महिनाअघि नै आफ्नो आप्रवासी कामदारबारेको नीतिमा हेरफेर गर्दै विदेशी कामदार भित्र्याउने प्रक्रिया थालेको छ ।

उसले नेपालसंगै थाइल्यान्ड, चीन, भियतनाम, इण्डोनेसिया, मंगोलियालगायत ९ देशबाट कामदार भित्र्याउने भएको हो । आउँदो अप्रिल १ तारिखबाटै नेपाली कामदार लाने विषयबारे प्रक्रिया अघि बढ्ने जनाइएको छ । जापानको पछिल्लो नयाँ नियमअनुसार आप्रवासी कामदारका लागि जापानी भाषा अनिवार्य गरेको छ । जापानले सरकारीस्तरमै समझदारी गरी विदेशी कामदारको भाषा सीप परीक्षणबाट मात्र व्यवस्थित तरिकाले कामदार लैजाने भएको हो । यसका लागि उसले आवश्यक लागत बजेट १ वर्षका लागि १६ दशमलव ३ अर्ब जापानी येन छुट्याएको छ । भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट, लागत सहितका विषयमा जापान सरकारसँग समझदारी पत्रमा हस्ताक्षर भएपछि मात्रै कामदार पठाउने प्रक्रिया थालनी हुनेछ । जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा बिदेशी कामदार लैजाने बताएको छ । जसमा नेपालीहरुले नर्सिङ केयर निर्माण होटल कृषि, मत्स्यपालन लगायतका क्षेत्रमा जान पाउनेछन् । जापानले पहिलो चरणमा कम्तिमा पनि ३ लाख ४५ हजार आप्रवासी कामदार भित्र्याउने तयारी गरेको छ । नेपालबाट झण्डै ४० हजार कामदार लगिने जनाइएको छ । कामदारको सीप परीक्षण गरी सोही अनुरुपको काम उपलब्ध गराउनेसमेत जापान सरकारको लक्ष्य रहेको बुझिन्छ ।