प्रचण्डको अमेरिका यात्रा : उपराष्ट्रपतिसँग भएन, उपसहायक मन्त्रीसँग भेट

प्रकाशित मिति:

काठमाडौं – सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका प्रस्थान गरेको नवौं दिन सोमबार अमेरिकाका दक्षिण र मध्य एशिया मामिला हेर्ने प्रमुख उपसहायक विदेशमन्त्री (प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी, ब्यूरो अफ साउथ एण्ड सेन्ट्रल एशियन अफेयर्स) एलाइस जी वेल्सलाई भेटेका छन् । अमेरिकी विदेश मन्त्रालयले वेल्सको पद माथि उल्लेख गरिए झैं दिएको छ । तर, प्रचण्डका तर्फबाट सोमबार बेलुका उनकी पुत्री गंगा दाहालले सामाजिक सञ्जालमा राखेको पदमा भने उनै वेल्सलाई एक्टिङ असिस्टेन्ट सेक्रेटरी ब्यूरो अफ साउथ एण्ड सेन्ट्रल एशिया अफेयर्स (दक्षिण र मध्य एशिया मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री) भनेर प्रस्तुत गरिएको छ । सोही व्यहोरा प्रचण्डको आधिकारिक वेबसाइट सीएम प्रचण्डमा पनि सोमबार राति नै राखिएको थियो ।

उनीहरुबीच के कुराकानी भयो भन्ने बारेमा भने केही पनि खोलिएको छैन । प्रचण्ड आज अमेरिकाबाट स्वदेश फर्कने कार्यक्रम छ । उनी बिहीबार मात्रै स्वदेश आइपुग्ने जनाइएको छ । प्रचण्डले सोमबार नै मेरिल्याण्ड राज्यको प्रदेश संसदको पनि अवलोकन गरेको सँगै रहेकी छोरी गंगाले सामाजिक सञ्जाल मार्फत् जनाएकी छन् । नेपाली मूलका मेरिल्याण्ड राज्यका प्रदेश सांसद ह्यारी भण्डारीले सो अवसरमा स्वागत गरेको समेत उनले जनाएकी छन् । सो अवसरमा नेपाली राजदूत कार्की समेत सहभागी भएको तस्बिरमा देखिन्छ ।

को हुन् प्रचण्डले भेटेकी वेल्स ?

अमेरिकी विदेशमन्त्रालयले एलीस जी वेल्सलाई चिनाएको विवरणमा जनाइएअनुसार उनी अनुभवी करियर डिप्लोम्याट हुन् । उनले सन् २०१७ को जुन २६ तारेखदेखि दक्षिण र मध्य एशिया मामिला सम्बन्धी अमेरिकी प्रमुख उपसहायक विदेशमन्त्रीको काम थालेकी हुन् । त्यो भन्दा अघि उनी जोर्डनका लागि अमेरिकी राजदूत रहेकी थिइन् । सन् १९६३ मा लेबनानको बेरुतमा जन्मेकी उनी राजनीतिक नियुक्ति नभइ विदेश मन्त्रालयको कर्मचारी भएकोले उनले विगतमा विश्वका विभिन्न भागमा रहेका अमेरिकी दूतावासमा समेत रहेर काम गरेकी थिइन् ।

उनका पिता सेनामा रहेको र लेबनानमा खटिएको बेला उनको जन्म पनि त्यहीँ भएको हो । उनी राजदूतको रुपमा जोर्डनमा रहँदा त्यहाँका राजा अब्दुल्लाह द्वितीयासँग केही असहमति भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई फिर्ता बोलाएका थिए र त्यसपछि उनलाई अहिलेको जिम्मेवारी दिइएको त्यतिबेला फरेन अफेयर्स म्यागेजिनले जनाएको थियो । त्यसअघि उनले अमेरिकी विदेशमन्त्रालयमा नियर इस्टर्न ब्यूरोमा वरिष्ठ सल्लाहकारका रुपमा समेत काम गरेकी थिइन् । त्यसैगरी मध्य एशिया र रसिया मामिलामा तत्कालीन राष्ट्रपतिका लागि विशेष सहायकका रुपमा सन् २०१२ देखि २०१३ सम्म काम गरेकी थिइन् ।

उनले तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकारी सहायकका रुपमा समेत सन् २०११ देखि २०१२ सम्म काम गरेकी थिइन् । त्यसअघि उनले राजनीतिक मामिला सम्बन्धी उपसचिव विलियम जे बर्नस्को कार्यकारी सहायकको रुपमा सन् २००९ देखि २०११ सम्म काम गरेकी थिइन् । त्यस्तै, सन् २००६ देखि २००९ सम्म मस्कोमा रहेको अमेरिकी दूतावासमा राजनीतिक मामिला सम्बन्धी मिनिस्टर काउन्सिलरको रुपमा उनले काम गरेकी थिइन् । त्यो भन्दा अघि उनी म्याग्रेव मामिला तथा व्यूरो अफ नियर इस्टर्न अफेयर्समा रहेर इजिप्ट र उत्तर अफ्रिकी मामिलामा कार्यवाहक निर्देशकका रुपमा काम गरेकी थिइन् ।त्यसैगरी उनी भारतको नयाँ दिल्लीस्थित अमेरिकी दूतावासमा राजनीतिक मामिला हेर्ने अधिकृत तथा पाकिस्तानको इश्लामावाद र साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासमा पनि काम गरेकी थिइन् । उनले स्ट्यान्फर्ड युनिभर्सिटीबाट स्नातक र युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छन् । उनी रुसी, अरेबिक, उर्दू र हिन्दी भाषा समेत बोल्न सक्छिन् ।

राजदूत मौन 

अरु बेला सामान्य कार्यक्रमको पनि तस्विर सामाजिक सञ्जालमा राख्न व्यस्त हुने अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले पूर्वप्रधानमन्त्री प्रचण्ड अमेरिका गएको भने कुनै तस्विर सार्वजनिक गरेनन् । बरु सँगै गएकी प्रचण्डपुत्री गंगाले मार्च १९ का दिन स्थानीय जोन हप्किन्स अस्पतालको भवन बाहिर प्रचण्ड र पत्नी सीता सहितको तस्विर सार्वजनिक गरेकी थिइन् । त्यसपछि सोही दिन अमेरिकास्थित राजदूत कार्कीले दूतावासमा राखेको स्वागत कार्यक्रममा गएको तस्बिर छोरी गंगाले नै राखेकी थिइन् । मार्च १९ पछि एकैपटक हिजो सोमबार राति मात्रै गंगाले अमेरिकी उपसहायक मन्त्रीसँगको भेटघाटको तस्बिर सार्वजनिक गरेकी हुन् । सोमबार मात्रै उनले प्रदेश सभाको भ्रमण गरेको पनि तस्बिर सार्वजनिक गरेकी थिइन् । यो बीचको समयमा प्रचण्डले के गरे भन्ने कुरा सार्वजनिक गरिएन । प्रचण्डपुत्री तथा चितवन महानगरपालिकाका मेयर रेनु दाहालले प्रचण्ड आज मंगलबार उताबाट हिंड्ने र बिहीबार आइपुग्ने बाह्रखरीसँग गत बताएकी छन् ।

उपराष्ट्रपतिसँग भएन भेट

प्रचण्ड जानु अघि भेटघाटका लागि अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँग प्रयास भइरहेको चर्चा चलेको थियो । प्रचण्डले पनि जाने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भेटघाटका लागि प्रयास भइरहेको बताए पनि को सँगको भेटघाट भन्ने खुलाएका थिएनन् । तर, अमेरिका गएको नवौं दिनमा उनलाई उपसहायक मन्त्रीसँग मात्रै भेट्ने समय जुरेको छ । जबकी यसअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमन्त्री माइक पम्पेओसँग नै भेटवार्ता गरिसकेका छन् । प्रचण्डको भ्रमणको समयमा अमेरिकामा रहँदै आएका नेपाली तिलक श्रेष्ठले उनीमाथि छानबिनको आग्रह गर्दै अमेरिकी सरकारसमक्ष उजुरी गरेको भएपनि अमेरिकी सरकारले उनका बारेमा ‘नो इन्भेस्टिगेसन सर्कुलर’ जारी गरेको जनाइएको छ । भेनेजुएला मामिलामा प्रचण्डले जारी गरेको एउटा वक्तव्यले दुई देशबीचको सम्बन्ध चिसो पारिएको आँकलन भइरहेको बेलामा प्रचण्डले पत्नीको उपचारको क्रममा अमेरिका भ्रमण गरेर अमेरिकी विदेश मन्त्रालयका अधिकारीलाई अहिले भेटेका हुन् ।

(तस्बिर गंगा दाहालको फेसबुक)