हराउँदै ऐतिहासिक ‘ढुंगे धर्मशाला’

प्रकाशित मिति:

कोइ छौकी मनकी सै बात मुखि लै भन्दिन्या ।

अहिल भोट्या मरिगयो उइबेला नुन दिन्या ।।

डडेल्धुरा – जब नुन किन्न सात दिनदेखि आधा महिनासम्म जंगलको बाटो हुँदै भारतीय बजार बमदेउ, टनकपुर पुग्नु पर्ने समय थियो। त्यति बेला पुर्खाहरूले जानकारी र मनोरञ्जनका लागि देउडा गीत गाउँथे। माथिको हरफमा भनिए जस्तै कोही हुनुहुन्छ मनभित्रको सत्य कुरा मसँग पनि भनिदिने, अहिले भोटे मरि गायो, त्यति बेला नुन दिने। मालसमान ढुवानीका लागि भेडा पालेका भोटे आजभन्दा तीन दशकअघि मात्रै पनि डडेल्धुराको बाटो भएर तराई पहाड गर्ने गर्थे। उनीहरूले ल्याएको नुन, चामल, गुड जस्ता खाद्य वस्तु ओहोर दोहोर गर्ने भएकाले बेच्ने पनि गर्थे। यहिँ समयको यो ‘देउडा’ भाका हो। अहिले समय निकै परिवर्तन भइसक्यो। कुनै समयमा डडेल्धुराका राजमार्ग छेउछाउमा देखिँदै आएका धर्मशालाहरू अहिले हराउँदै गएका छन्। घर खर्चको चाँजोपाजो मिलाउन तथा दैनिक उपभोग्य खाद्य वस्तु नुन, गुड, तेलसँगै लत्ताकपडा ६ महिनादेखि १ वर्षलाई हुने गरी ल्याउन डडेल्धुराको पैदल बाटो हुँदै तराईका बजारदेखि नेपाल भारतका सीमा बजार बरमदेउ, टनकपुर आउदा जाँदा बाटोमा बास बस्न बनाइएका धर्मशालाहरू अहिले विलय हुँदैछन्। ढुंगाको मात्रै प्रयोग गरी कलात्मक रूपमा बनाइएका ऐतिहासिक पुरातात्त्विक धर्मशाला एकपछि अर्काे गर्दै हराइरहेका छन्। फेरिँदो मानिसको जीवनशैलीसँगै हराउँदै गएका धर्मशालाहरू अब एका देशको कथा जस्तै बन्न पुगेका छन्। डडेल्धुरा बैतडी राजमार्गमै थुप्रै धर्मशालाहरू थिए। बागबजारको पुरानो वाणिज्य बैंक अगाडि एउटा धर्मशाला अन्तिम पटकसम्म पनि थियो। तर, अहिले नामोनिशानसमेत मेटिएको छैन। पहिले स्थानीयले बास बसुन्, थकान मेटाउन र पैदल यात्रुको सहजताका लागि धर्मशालाहरू बनाउने गर्थे। सेवा गरे राम्रो फल पाइन्छ भनेर बाटोमा हिड्ने बटुवाको सहजताका लागि पुर्खाले धर्मशाला बनाउनेदेखि पीपल रोपी चौतारा बनाउने, पानीका पंधेरा, नौला, राउटा बनाउने गर्दथे। तर, अहिले यी सबै संरचना हराउँदै गएका छन्। अहिले स्थानीयले आफ्नो जमिनमा भएको धर्मशाला हटाई घर बनाउनेलगायत अन्य प्रायोजनका लागि पनि धर्मशालाहरू हटाउँदै छन् भने जंगल क्षेत्र तथा सार्वजनिक स्थलमा रहेका धर्मशालाहरू जीर्ण भइ बिलाउनुका साथै आसपास घर भएका स्थानीयले ढुंगा प्रयोगमा ल्याउन थालेपछि हराउँदै गएका हुन्। डडेल्धुरा सदरमुकाम (बागखोर) अहिलेको बागबजार छेउमा रहेको धर्मशालासँगै (किर्मडे) हालको कीर्तिपुर बजारको छेउमा पनि एउटा धर्मशाला थियो। पोखरा बजार आइपुग्नु अगावै पनि एउटा धर्मशाला थियो। बागबजार र कीर्तिपुरका धर्मशालाहरू हराए पनि पोखार बजार नजिकको धर्मशाला जीर्ण अवस्थामा छ। ती धर्मशालाहरू कसले कहिले बनाए, यसको कहिँकतै दस्ताबेजहरू छैनन्। कसले किन भत्काए भन्नेमा पनि कसैको ध्यान जान सकेको छैन। पछिल्लो समयमा बढ्दो शहरीकरणका कारण धर्मशालाको प्रयोगमा कमी आएका कारण नै अस्तित्व सकिएको जानकारहरू बताउँछन्। खासगरी १० वर्षे सशस्त्र द्बन्द्बकालीन समयदेखि धर्मशालाको प्रयोगमा कमी आएको स्थानीयको बूढापाकाको भनाइ छ।

धर्मशालामा को बस्थे ? हुनत पछिल्लो पुस्ताका लागि धर्मशाला के हो? को बास बस्थे? उनीहरूका गतिविधिहरू के हुन्थे? भन्ने जिज्ञासा हुनु स्वाभाविक पनि हो। धर्मशालाको निमार्ण कुनै सार्वजनिक जग्गा वा गुठी क्षेत्रमा भएको देखिन्छ। तत्कालीन शासकहरूभन्दा पनि धार्मीक व्यक्तित्वहरूबाट धर्मशाला बनाइने गरेको पाइन्छ। यसमा बास बसेबाफत कसैबाट कुनै कर वा रकम लिएको भने सुनिएको छैन। त्यो समयमा यस क्षेत्रमा आवासका लागि कुनै व्यावसायिक रूपले होटलहरू नहुनु र बटुवाहरूलाई घरमै खुवाउन र सुताउन आर्थिक परिस्थितिले नभ्याएकोमा धर्मशाला नै बनाउनु परेको केहि अग्रज जानकारहरू बताउँछन्। प्रायः जसो दार्चुला व्यासी समुदायका शौका तथा भोटेहरू र बझाङका भोटे समुदायका मानिसहरू नै धर्मशालाको प्रयोग गर्दै आएको देखिन्थे। स्थानीय वृद्धा गोपाल भट्टराईले भने, ‘उनीहरूको लामो बाटो थियो। त्यसैले यस ठाउँमा बास बसेको उनीहरूलाई नै देख्थेँ। डडेल्धुराका स्थानीयहरू महाभारतको तेलेलेक हालको अमरगढी नगरपालिका ३ चिर्किट्टेमा रहेको धर्मशालामा बास बस्थे। यस्तै थुप्रै ठाउँमा धर्मशाला थिए।

रात पर्दा धर्मशालामा बास बस्ने गरिन्थ्यो।’ सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने र भेडाबाख्रा पालन गर्ने यस समुदायका मानिसहरू मंसिरको अन्त्यतिरबाट उच्च पहाडी क्षेत्रलाई छोड्दै पहाडी क्षेत्रमा भेडाहरूसँगै बेसी झर्ने गर्थे। त्यो समयमा हिमपात हुने र चिसो बढ्ने भएकाले उनीहरू हजारौँ भेडाहरूको लस्करमा आफ्नो खानेकुराहरू भेडाको पिठ्युमा राख्दै डडेल्धुराको बाटो भई तराई आवतजावत गर्थे। उनीहरूको बसाइँसराईले दुई प्रकारको फाइदा हुन्थ्यो। एउटा त हिमपातका कारण सास्ती पाउनबाट बचिन्थ्यो भने अर्को तिनै भेडाहरू चराउन पनि हुने र त्यसबाट रासन खरिद गरि बिक्री गर्न पनि हुने। त्यो समयमा डडेल्धुरामा निकै भोकमरि हुने गर्थ्यो। यातायात नहुने, रोजगार नहुने भएकाले कतिपय मानिसहरू तराईबाट झर्न लागेका भोटेहरूको प्रतीक्षामा हुन्थे। उनहरूले पनि धर्मशालानजिक भेटिएका मानिसहरू लाई बिँडी, गुड, तम्बाकू, दिने गर्थे भन्ने कुरा उहिलेको मौलिक देउडा गीतहरूले पनि प्रस्ट पार्छ।

भोट्या दाजु भेडा ल्याउनो भोटयानी धपाउनी ।

हातले बुन्याको कम्मल कसेरी खपाउनी ।। यसरी भोट र पहाडको सम्बन्धलाई आतिथ्य सत्कारमा जोड्ने धर्म घरहरू प्रयोगविहीन हुँदै विलीन भए पनि अझै केही गर्न सकिन्छ कि सोच्ने बेला आएको छ। ऐतिहासिक धरोहरहरू जोगाई राखे भोलिका दिनमा पुर्खाहरूको जीवन शैलीका लागि अध्ययन गर्न जीवित इतिहास बन्न सक्छन्।