विप्लव समूहलाई प्रतिबन्ध लगाएर सरकारले भूल गर्‍योः साउद

प्रकाशित मिति:

अछाम – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सिँचाइ मन्त्री एनपी साउदले सरकारलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ताका माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेका छन् । अछामको मेल्लेख गाउँपालिकामा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेता साउदले सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर भूल गरेको बताए । ‘‘सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएर ठूलो भूल गरेको छ । यद्यपि हिंसालाई हामी कुनै पनि अर्थमा समर्थन गर्दैनौं,’’ उनले भने, ‘‘म सरकारलाई विप्लव समूहसँग वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्न आग्रह गर्दछु ।’’

केपी ओली नेतृत्वको वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै नेता साउदले सरकारलाई सही ‘ट्रयाक’ मा ल्याउन जरुरी रहेको बताए । उनले सरकारको अधिनायवादका विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने अवस्था आएको भन्दै कांग्रेसले चाँडै सरकारविरुद्ध जागरण अभियान सञ्चालन गर्ने बताए ।

नेता साउदले मुलुकको अहिलेको विषम् परिस्थितिमा फुटेर नभई एकजुट भएर पार्टीको संगठन सुदृढिकरणका लागि सबैले लाग्नुपर्नेमा जोड दिए । ‘‘देश अहिले अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा हामी सबैले सांगठनिक र भावनात्मक एकतामा जोड दिन आवश्यक छ,’’ उनले भने । नेता साउदले अछामसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा व्याप्त कुरिति छाउपडीका कारण अनाहकमा महिलाको ज्यान गइरहेको भन्दै यो प्रथा उन्मूलन गर्न महिलाहरु जागरुक हुनुपर्नेमा जोड दिए । उनले अछामका महिलालाई छाउपडी प्रथा उन्मूलनका लागि सुरुवात आफ्नै घरबाट गर्न आग्रह गरे ।