जिम्बावेमा आज राष्ट्रपतिका लागि मतदान ,, राष्ट्रपतिका लागि २३ जना मैदानमा

प्रकाशित मिति:

अफ्रिकी मुलुक जिम्बावेमा आज राष्ट्रपतिका लागि मतदान हुँदैछ।सन् १९८०मा ब्रिटिस उपनिवेशबाट स्वतन्त्र बनेको जिम्बावेमा पहिलो पटक पूर्वराष्ट्रपति रोवर्ट मुगावे उम्मेदवार नभएको चुनाव हुन लागेको हो। गत वर्ष सैनिक कूसँगै ९३ वर्षिय मुगावेले ३० वर्षपछि राष्ट्रपतिबाट राजीनामा दिएका थिए। सन् १९८७ मा राष्ट्रपति बन्नुअघि उनी ७ वर्ष प्रधानमन्त्री बनेका थिए।

मतदान सुरू हुनुभन्दा २४ घन्टाअघि सम्बोधन गर्दै मुगावेले आफ्नो पार्टी जानु पिएफका राष्ट्रपति उम्मेदवार इमरसन मांगाग्वालाई भोट नहाल्ने बताएका छन्।

राष्ट्रपतिका लागि २३ जना मैदानमा छन्। त्यसमध्ये ४ जना महिला छन्। मुख्य प्रतिष्पर्धा मांगाग्वा र मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज एलाइन्स एमडिसिए का नेता नेल्सन कमिसाबीच हुने देखिएको छ।

मुगावेको पालामा लामो समय उपराष्ट्रपति रहेका मांगाग्वा उनले राजीनामा दिएपछि राष्ट्रपति बनेका थिए भने ४० वर्षिय कमिसा २५ वर्षमा सांसद चुनिएका थिए। ३१ वर्षमा उनी मन्त्री भएका थिए। मतदाताको ठूलो हिस्सा युवा भएको र मुगावे पनि मांगाग्वालाई असहयोग गरेपछि मत कमिसातिर आउन सक्छ ।

निर्वाचनमा विजयी हुन कुनै उम्मेद्वार ५० प्रतिशतभन्दा बढी मत ल्याउनै पर्छ। यदि कुनै उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसके सेप्टेम्बर ८ मा अर्को चरणको चुनाव हुनेछ।

आजको मतदानबाट ३५० जना सांसद पनि चुनिनेछन्।