एनआरएनए अमेरिकाको अध्यक्षमा डाक्टर बन्जाडेले दिए उम्मेदवारी

प्रकाशित मिति:

अमेरिका । एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर डाक्टर अर्जुन बन्जाडेले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । टेक्ससमा पत्रकार र आफ्ना केही सहयोगीहरूको बिचमा वनजाडेले आइतबार आसन्न निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताए । एनआरएनए अमेरिकाको भावी कार्यक्रम के हुनु पर्छ भनेर आफैले आयोजना गरेको ‘सुन्ने सुनाउने कार्यक्रम’ मा वनजाडेले आफ्ना एजेन्डा सार्वजनिक गर्दै आसन्न निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका हुन् । संस्थाका गतिविधि दस्ताबेजको रूपमा राख्न र जनसमुदायमा लान ६ महिनामा बुलेटिन निकाल्ने , आर्थिक पारदर्शिताका लागि संस्थाको पूर्ण अडिट रिपोर्ट सर्वसाधारणले बुझ्ने भाषामा सबै सदस्यहरूलाई पठाउने , कस्तो शीर्षकमा मात्र संस्थाले खर्च गर्न सक्ने भन्ने गाइडलाइन बनाउनु पर्ने, सदस्यता लिँदा व्यक्तिका संवेदनशील सूचना लिने अहिलेको प्रक्रियामा परिमार्जन गरी नयाँ ढाँचाबाट जानुपर्ने लगायतका विषयलाई डाक्टर बन्जाडेले महत्त्वका साथ प्रस्तुत गरे ।

कार्यसमितिका केही बैठकमा साधारणसदस्यहरुलाई पनि सहभागी गराउने परिपाटी विकास गराउन कार्यसमितिमा प्रस्ताव गर्ने उनले बताए । अमेरिकामा नेपाली युवाहरूमा देखिएको मनोरोगका कारण बढेको आत्महत्यामा न्यूनिकरण गर्न र कार्यस्थलमा भइरहेका घटना दुर्घटना न्यून गराउन चेतनामूलक कार्यक्रम एनआरएनले थाल्नु पर्ने डाक्टर बनजाडेको भनाइ रहेको थियो । डाक्टर बन्जाडे भन्दा अगाडि वरिष्ठ उपाध्यक्ष सुनिल शाह, प्रवक्ता विनोद कुमार तिवारी, बोर्ड आफ डाइरेक्टर सञ्जय थापा, पूर्व बोर्ड अफ डाइरेक्टर सूर्य लम्सालले अध्यक्षमा उम्मेदवारी सार्वजनिक गरिसकेका छन् ।