लगानी सम्मेलनको सबै तयारी पूरा, ६ सयभन्दा बढी विदेशी लगानीकर्ता सहभागि हुने

प्रकाशित मिति:

काठमाडौं । लगानी बोर्डले शुक्रबारबाट हुने लगानी सम्मेलनको सबै तयारी पूरा भएको जनाएको छ । सम्मेलनको तयारीबारे प्रधानमन्त्री, मन्त्रीहरू, उच्च सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिलाई हिजो ‘ब्रिफिङ’ गर्दै बोर्डले सबै तयारी पूरा भएको जनाएको हो । सम्मेलनमा दातृ निकाय र विकास साझेदारसहित ६ सयभन्दा बढी विदेशी र ४ सय हाराहारी स्वदेशी लगानीकर्ता सहभागी हुने बोर्डले जनाएको छ । सम्मेलनमा गैर–आवासीय नेपालीले पनि भाग लिने छन् । सरकारले प्राथमिकताका सात क्षेत्र तोक्दै सम्मेलनमार्फत ७३ आयोजनाका लागि ३१ खर्ब स्रोत जुटाउने लक्ष्य लिएको छ । सम्मेलनमा प्रस्तावित आयोजनाबारे जानकारी लिएपछि लगानीकर्ताले क्षमता र रुचीका क्षेत्रमा लगानी गर्ने वातावरण बन्ने भन्दै सरकारले सम्मेलनलाई झोलामा बोकेर ल्याएको पैसा खन्याई हाल्नेरुपमा बुझ्न नहुने पनि स्पष्ट पारेको छ ।सम्मेलनका लागि आमन्त्रित विदेशी पाहुना काठमाडौँ आउनेक्रम पनि सुरु भइसकेको बोर्डले जनाएको छ । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुहुने छ ।