नेपालमा नयाँ प्रजाति बाघे माउसुली फेला

प्रकाशित मिति:

काठमाडौं – नेपालमा नयाँ प्रजाति बाघे माउसुली फेला परेको छ। बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो। जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे बाघे माउसुली पहिलोपटक बाँके जिल्लाको कम्दी जैविक मार्गमा भेटिएको हो। युब्लिफेरिडे परिवारअन्तर्गत पर्ने यो माउसुलीको अभिलेख भएसँगै नेपालमा सरिसृप प्रजातिको नयाँ परिवार थपिएको छ। नेपालमा पाइने माउसुलीमध्ये यो ११ औं प्रजाति भएको सरिसृपविज्ञ करण शाहले बताए। विश्वमा ३८ प्रजाति माउसुली भेटिएका छन्। यो माउसुली भारत, बंगलादेश, पाकिस्तान, इरान, अफगानिस्तान, तुर्कमिनिस्तानमा पाइन्छ। रातिमा सक्रिय हुने र दिनभरि सुत्ने तथा अरु मासुलीजस्तो घरको भित्तामा नबसी जमीनमा बस्नु यसको विशेषता हो। बाँकोको काम्दिपछि सुनवल, नवलपरासी र सुर्खेतको गुर्भाकोट तथा पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जको कुसुम क्षेत्रमा समेत भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर यामबहादुर रावत, सरिसृपविज्ञ शाह र कुलबहादुर थापा तथा कोषका सन्तोष भट्टराई सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो। उक्त माउसुलीबारे अमेरिकन जर्नल रेप्टाइल्स तथा अम्फिबिअन्समा सोमबार मात्र प्रकाशित भएको छ। आकर्षक देखिने भएकाले यसलाई विदेशमा मानिसले पाल्ने सरिसृपविज्ञ शाहले बताउँछन्। ‘सुरुमा रेञ्जर यमबहादुर थापाले यसको फोटो फेसबुकमा हाले। नयाँ प्रजाति हो भनेर मैले भनेपछि उनले फेसबुकबाट हटाए। अनुसन्धान गर्दा नेपालकै नयाँ प्रजाति पुष्टि भयो शाहले भने। हालसम्म तीन ठाउँमा पाँच वटा मात्र भेटिएको यो प्रजातिलाई स्थानीयवासीले विषकोब्रा भन्ने र विषालु हुन्छ भन्ने भ्रमका कारण देख्नेबित्तिकै मार्ने गरेका छन्। सुक्खा बासस्थान भएको चुरे क्षेत्र यो प्रजातिका लागि उपयुक्त बासस्थान रहेकाले अन्य चुरे क्षेत्रमा पनि यसको बासस्थान हुनसक्ने अनुमान छ। नदी किनारबाट गिटीबालुवा झिक्दा घाइते अवस्थामा फेला परेकाले चुरे क्षेत्रको अत्यधिक दोहनले यो प्रजाति लोप हुनसक्ने खतरा छ। जैविक विविधताका दृष्टिले नयाँ प्रजाति देशका लागि महत्वपूर्ण सम्पत्ति भएकाले यसको संरक्षण र सरिसृप प्रजातिको अध्ययन अनुसन्धानमा सरकारको ध्यान जानुपर्ने संरक्षणकर्मी बताउँछन्। रासस