३ महिने सिलाई कटाई तालिम सम्पन्न

प्रकाशित मिति:

१३ चैत सैनामैना ।  कन्चन गाउँपलिकाको वडा नं १ मा ३ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । रोटरी क्लव अफ सैनामैना र कन्चन गाउँपालिकाको सहकार्यमा संचालित तालिमको एक कार्यक्रमको आयोजना गरि आज सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै कन्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागिहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका क्षेत्रीले गाउँपालिकाले सिपमुलक तालिमलाई मुख्य प्रथामिकतामा राखेर अघि बढेको बताउँदै आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

आर.आई.डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गत जोन १८ का एसिसटेन्ट गभर्नर एजाज आलमले महिलाहरुलाई स्वरोजगार बनाउन यस तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । गरिब तथा विपन्न वर्गका समुदायलाई समेटेर गरिएको तालिम प्रभावकारी र फलदायी भएको वडा नं १ का वडाध्यक्ष हरिनारायण थारुले बताउनुभयो । तालिममा सहभागि ३० जना महिलालाई टिका र प्रमाण पत्रद्धारा सम्मान गरिएको थियो । तालिममा सहभागि मध्ये उत्कृष्ट प्रशिक्षार्थी पुनम थारुलाई एक थान सिलाई कटाई मेशिन समेत प्रदान गरिएको थियो । ३ महिने तालिममा ढुण्डीराज परियारले प्रशिक्षण दिनुभएको थियो ।  कार्यक्रम रोटरी क्लव अफ सैनामैनाका प्रेसिडेन्ट खुसीराम चौधरीको अध्यक्षता,कन्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता,जोन १८ का एसिसटेन्ट गभर्नर एजाज आलम र ,वडा नं १ वडाध्यक्ष हरिनारायण थारुको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो ।  क्लवका सदस्य ऋषिराम पाण्डेको स्वागत,इलेक्ट प्रेसिडेन्ट प्रेम कुमार शर्माको धन्यवादज्ञापनमा भएको कार्यक्रमको संचालन सचिव अशोक रानाले गर्नुभएको थियो ।