चिट चोराउने पाँच निरीक्षक र चोर्ने ६ परीक्षार्थी पक्राउ

प्रकाशित मिति:

सप्तरी – एसइई परीक्षाको तेश्रो दिन अनिवार्य गणित विषयको परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अरोपमा सप्तरीबाट पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् । अनिवार्य गणित विषयको परीक्षामा बुधबार सप्तरीको महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ ।

चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको बुधबारको परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बर नारायण यादवले जानकारी दिनुभयो । त्यसैगरी बभनगामाकट्टी परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका तिलाठी कोइलाडी गाउँपालिका, लौनियाका बुधेश्वर यादवलाई समेत मोबाइल प्रयोग गरेको पाइएपछि पक्राउ गरिएको छ । यस्तै जनता मावि बसबिट्टीबाट परीक्षा दिइरहेका ह्याप्पी ल्याण्ड सेकेण्ड्री माविका अनिल साह र विमल दासलाई समेत बुधबारको परीक्षा सकिनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ । पहिलो दिन फेला परेको मोबाइल उनीहरुको रहेको पत्ता लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कमलेश्वरी किशुन झालाई मावि वनरझुला केन्द्रमा चिट चोराएको भेटिएपछि पाँचजना निरीक्षक पनि बुधबारै पक्राउ परेका छन् ।

मोबाइल प्रयोग गरी भाइबर, ह्वाट्सएप र फेसबुकको म्यासेञ्जरबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र त्यसै माध्यमबाट उत्तर आएपछि उत्तर पुस्तिकामा उतार गर्ने गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो । एसपी विष्टका अनुसार पक्राउ परेका विद्यार्थीहरुलाई बुधबारै दिउँसो छोडिएको तथा निरीक्षकहरुमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ । योबाहेक जिल्लाको अन्य परीक्षा केन्द्रहरुमा शान्तिपूर्वक तेश्रो दिनको अनिवार्य गणित विषयको परीक्षा सञ्चालन भएको जिल्ला शिक्षा समन्वय समिति सप्तरीका परीक्षा शाखा प्रमुख विरेन्द्र चौधरीले जानकारी दिनुभयो ©unn