एसइइ अनुगमन गरेपछि मन्त्रीले भने, ‘हैन यहाँ त अलिक लुज नै रहेछ’

प्रकाशित मिति:

विराटनगर –  सुनसरीको ईटहरी उपमहानगरपालिकामा रहेको कचना माध्यामिक विद्यालय परीक्षा केन्द्रमा बिहानको करीब ९ बजेको समयमा साईरनसहित रफ्तारमा गएको दुईवटा गाडी गेटमा रोकियो । गेटमा सुरक्षाकर्मी सहितको टोली थियो । प्रहरी कर्मचारीहरु एकाएक झस्किए । अनि साथमा गार्ड देखेपछि उनीहरुले नचिनेकै व्यक्तिलाई सल्युट मारे । परीक्षा केन्द्रमा पुगेको टोली थियो, १ नम्बर प्रदेश सरकार, सामाजिक विकास मन्त्री जीवन घिमिरे सहितका सचिव र मन्त्रालयको परीक्षा अनुगमन टोली । त्यहाँ मन्त्री पुगेको न त्यहाँका कर्मचारीले थाहा पाए न अनुगमन आउँदैछ भन्ने सुईँको कसैले पाए ।

परीक्षा केन्दको रनिङ गार्डको रुपमा बसेकी महेन्द्र मावि भरौलकी शिक्षक बिमला खड्का यता र उति दौडिँदै हल्ला नगर्न भन्न थालिन् । परीक्षा हलभित्र कोही कता फर्किएका, कोही हल्ला गरेका अनि कोही आफ्ना साथिसँग कापि साट्न समेत भ्याई सकेका थिए । केहीछिनमा हल्ला भयो, अनुगमनमा मान्छे आएको जानकारी दिने कामसमेत हल बाहिरैबाट भयो । गेटमा छिर्ने बित्तिकै फुलबारीमा धुपीको बोटको फेदमा थप कापि फालिएको थियो । चौरको बीचमा निरिक्षक गफ गरेर बसेका थिए । यस्तो अवस्थामा एसइइ परीक्षा संचालन हुँदैथियो । केहीबेर बसेपछि मन्त्री घिमिरे फर्किए ।

परीक्षा अनुगमन गरेर फर्किएका मन्त्री घिमिरेले भने, ‘हैन यहाँ त अलिक लुज नै रहेछ ।’ चिट लेख्ने र चोराउनेहरुको चहलपहल भने घटेको मन्त्री घिमिरेले टिप्पणी गरे । एसइइ हुनभन्दा अगाडिसम्म परीक्षा केन्द्रको आसपासको भिडलाई नियन्त्रणमा लग्न सुरक्षाकर्मीलाई निकै समस्या देखिन्थ्यो ।

पहिला मूल गेटमा चेक जाँच गरेपछि शिक्षक तथा सुरक्षाकर्मीहरुले बोराभरि गेस पेपर, गाइड र चिटहरु बरामद गरेका हुन्थे । परीक्षा कक्षाको अघिल्तिर कितावका चाङ् लागेका हुन्थे । यस पटकको परीक्षामा भने सुनसरी मोरङ क्षेत्रमा त्यस्तो अवस्था देखिएको छैन । मन्त्री घिमिरेसहितको टोलीले बुधवार सुनसरीको धरान, इटहरी, दुहवी लगायतका विद्यालयहरुमा गरेको अनुगमनको क्रममा त्यस्तो नदेखिएपनि भित्री रूपमा हुने सामान्य चलखेल भने भएकै देखिन्थ्यो । सहरी क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्मका विद्यालय अनुगमनका क्रममा परीक्षा हलभित्र, बाहिर र परिसरमा कुनै गेसपेपर, गाइड, वा पुस्तकहरु भेटिएनन् ।

धरानको शहिद स्मृती माध्यामिक विद्यालयबाट सुरु भएको अनुगमन सुनसरीकै खनारमा रहेको शारदा माध्यामिक विद्यालयमा पुगेर सकिएको थियो । तर अनुगमन गरिएका सबै परिक्षा केन्द्रमा कुनै त्यस्तो गाईड, गेसपेपर, पुस्तक, तथा भिड देखिएन तर भित्री चलखेल भने प्रशस्तै देखियो । धरानका विद्यालयहरूमा भने अनुगमन हुँदैछ भन्ने कुरा केही समयअघि नै सार्वजनिक भएका कारण सबै ठिकठाक अवस्था देखियो । अनुगमन हुने जानकारी पहिले नै विद्यार्थीसम्म पुर्याएकाले विद्यार्थीहरूसमेत सचेत भइसकेका थिए । तर पब्लिक माध्यामिक विद्यालय धरानमा अनुगमन टोली पुग्दा केही शिक्षकहरुको ठूलो दौडधुप चल्यो । एक जना शिक्षिका अनुगमन टोली पुग्नुअघि नै सबै कक्षामा पुगेर निरीक्षण भइरहेको भन्दै सचेत गराएको भेटियो । धरानको शिक्षा निकेतन माध्यामिक विद्यालयमा पनि सामान्य अवस्थामा परीक्षा चलिरहेको थियो ।

त्यस्तै जनता माध्यामिक विद्यालयमा पनि अकस्मात मन्त्रीको टोली पुगेपछि गार्ड बसेका शिक्षकहरुलाई विद्यार्थीको चिट लुकाइदिनसमेत हम्मेहम्मे परेको थियो । शारदा माध्यामिक विद्यालय खनारमा परीक्षा सौहार्दपूर्वक सञ्चालन भइरहेको थियो भने ति सबै विद्यालय बाहिर चिट चोराउने जस्ता कुनै समूहहरुको चहलपहल थिएन । केही छिटफुटमा समस्या देखिएपनि समग्रमा यस पटकको एसइइ परीक्षा निकै मर्यादित चलिरहेको मन्त्री घिमिरेले बताए । मन्त्रालयले परीक्षालाई मर्यादित बनाउन १४ ओटै जिल्लाहरुमा प्रतिनिधि पठाएर अनुगमन गरिरहेको छ भने जिल्ला तह र स्थानीय तहबाट पनि छुट्टाछुट्टै अनुगमन भइरहेका छन् । यस वर्ष प्रदेश १ मा ३ सय ७२ परीक्षा केन्द्रमा ८४ हजार ५ सय ८ जना विद्यार्थी सहभागी छन् ।