मेलम्ची प्रकरणमा मन्त्री मगरको ‘डाइरेक्ट कनेक्शन’ रहेका प्रमाणहरू यस्ता छन्

प्रकाशित मिति:

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारविरुद्ध छानबिनका लागि उजुरी दर्ता गरेपछि अर्को तरङ्ग देखा परेको छ । विवेकशीलकी नेत्री रञ्जु दर्शनाले उक्त आयोजना ढिलासुस्ती हुनुको कारण र त्यहाँ भएको आर्थिक अनियमितताका विषयमा खोजी होस् भनेर उजुरी हालिन् । स्वभाविक रूपमा उक्त उजुरीको मर्म खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगर, त्यस मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिसँग जोडिन्छ ।

रञ्जुले भ्रष्टाचारविरुद्ध दर्ता गराएको उजुरीको समाचारले बजार पिटेपछि खानेपानी मन्त्री मगरले बुधबार एउटा विज्ञप्ति जारी गरी दुई–तीनवटा नयाँ विषय राखेकी छन् । र, उनले विज्ञप्तिमा आफ्नो भुमिका गौण हुने, मेलम्ची खानेपानी विकास समिति र मन्त्रालयका सचिवको भुमिका प्रमूख हुने पनि उठाएकी छन् । यसको अर्थ, सो उजुरीबाट आफू पन्छिन रञ्जुमाथि अन्य राजनीतिक र व्यक्तिगत विषय पनि विज्ञप्तिमा जोडिएका छन् । जस्तो, आफू र आफ्नो परिवारको बद्नामी गराउने षडयन्त्रसम्मका कुरा उल्लेख छन् ।

तर, मेलम्ची खानेपानी आयोजनासँग मन्त्रीमा मगरको नियुक्तिका दिनदेखि नै डाइरेक्ट कनेक्शन रहेका प्रमाणहरू प्रशस्तै छन् । पहिलो, मन्त्री नियुक्त भएको तेस्रो दिन उनी मेलम्ची आयोजनाको काम हेर्नका लागि मन्त्रालयका कर्मचारी, आयोजनाका कर्मचारी, ठेकेदार कम्पनीका कर्मचारी र प्रतिनिधिसहित सिन्धुपाल्चोक पुगिन् । र, उनले आफ्नो कार्यकालको मुख्य मुद्दा मेलम्चीलाई समयमा काठमाडौं ल्याउने बताइन् । पहिलो घोषणा गरिन्,‘०७५ असारभित्र मेलम्ची काठमाडौंमा आउँछ ।’ दोस्रो, ऋषि धमला नेतृत्व रहेको रिपोर्टर्स क्लव नेपालमा उनलाई डाकियो । उनले त्यहाँ पनि भनिन्,‘मेलम्चीको पानी असार मसान्तसम्म जसरी पनि ल्याएरै छाडिन्छ ।’

तेस्रो, काम तदारुकताका साथ नहुँदा उनले तोकेको र बोलेको समयमा पानी नआउने भएपछि उनको समयसीमा फेरि फेरियो । र, मिडियामार्फत नै भनिन्,‘मेलम्ची ०७५ को दशैंभित्र आउँछ ।’ उनले विज्ञप्तिमा भने जस्तो सचिव र मेलम्ची विकास समितिको भूमिका नै प्रधान हुन्थ्यो भने हतारमा समयसीमा तोकेर घोषणा गर्न के अनिवार्यता थियो ?

प्रशासनमा के–के गरिन् ?
खानेपानी मन्त्रालय अन्तरगतका सबै प्रशासनिक काम सचिवको नेतृत्वमा नै हुन्छ । मन्त्रीले त्यहाँका फाइल सदर गर्ने र कामको रेकी गर्छन् । मेलम्ची प्रकरण मन्त्री मगरको राजनीतिक प्रतिष्ठाको पनि विषय भएका कारण उनले प्रशासनिक संयन्त्र परिवर्तनको शीलशीला थालिन् ।

समयमा मेलम्चीको काम नभएपछि तत्कालिन सचिव कृष्णराज बीसीको सरुवा गरि गजेन्द्र ठाकुरलाई मन्त्रालयमा ल्याउने काममा मन्त्री मगरको भुमिका प्रधान बन्यो । त्यो कुनै नियमित सरुवा थिएन । आफ्ना केही ‘भ्रष्ट सल्लाहकार’ र स्वकीय सचिवालयको सल्लाहका आधारमा बीसीको ठाउँमा ठाकुर ल्याइयो । ठेक्का तोडेको कम्पनीबाटै काम गराउने भनी मन्त्रालयको खर्चमा उनले आफ्ना स्वकीय सचिव र एक उपसचिवलाई सीएमसीसँग वार्ता गर्न भनी सिंगापुरलगायतका मुलुक पठाइन् । तर, त्यसको पनि उपलव्धी शुन्य भयो ।

विभागीय मन्त्री भएका कारणले यस प्रकरणबाट मगरले आफू संग्लिने ठाउँ कतै पनि राखिनन् । उनले स्थानान्तरण गरी ल्याएका सचिव ठाकुरले मेलम्ची खानेपानी आयोजना जतिसुकै खटपटका बीच चलेपछि गत २७ माघभित्र सम्पन्न हुने र काठमाडौंमा पानी आउने मन्त्रालयको लेटरहेडमै लेखिदिए । जसमा, मन्त्री मगरले लाहा छाप लगाउँदै सचिव ठाकुरको निर्णय सदर गरिन् । मेलम्चीको काम गरिरहेको इटालियन ठेकेदार कम्पनी सीएमसीले मागेको ३५ करोड रकम भुक्तानीमा सचिव ठाकुरले आलटाल मात्र गरेनन्, ठूलो कमिशन पनि माग गरेका विवरण बाहिर आए । यस विषयमा मन्त्री मगरले कुनै चासो राखिनन् बरु, सचिवको निर्णयका आधारमा नै उनी अघि बढिन् ।

त्यसपछि मगरकै स्वकीय सचिव विजय भट्टराईको नेतृत्वमा ३० जना प्रहरी टोली लगाएर सीएमसीका प्रतिनिधि पक्राउ गरी राहदानी जफतको काम भयो । त्यसमा पनि मन्त्री मगरले कुनै खास एक्शन लिइनन् । न प्रतिरोध गरिन् । मेलम्ची विकास समिति र मन्त्रालयले माग गरेको रकम तथा विवाद समाधान बोर्डले पनि पेश्की भुक्तानका लागि दिएको निर्देशनअनुसार ३५ करोड नपाएपछि सीएमसीले एकतर्फी ठेक्का तोडेको थियो । त्यसको विवाद जारी रहँदा सचिव ठाकुरले पनि ठेक्का तोड्ने निर्णय गरे, जसमा मन्त्रीको स्वीकारोक्ति देखिन्थ्यो । तर, यहाँबाट उनी र ठाकुरबीच विवाद पनि भएको थियो ।

ठेक्का तोडेको कम्पनीबाटै काम गराउने भनी मन्त्रालयको खर्चमा उनले आफ्ना स्वकीय सचिव र एक उपसचिवलाई सीएमसीसँग वार्ता गर्न भनी सिंगापुरलगायतका मुलुक पठाइन् । तर, त्यसको पनि उपलव्धी शुन्य भयो । अन्ततः उनले केही सीप नलागेपछि सचिव ठाकुरको सरुवा गरिदिइन् र मन्त्रालयमा दिपेन्द्रराज शर्मा सचिवका रूपमा आइपुगे । मगरले मन्त्रालय सम्हालेको एक बर्षभित्र भएका तीन सचिवका सरुवाले के पुष्टि गर्छ भने मेलम्ची प्रकरणमा उनको डाइरेक्ट कनेक्शन छ ।

यस विषयमा संसदमा प्रश्न उठेको थियो । नेपाली कांग्रेसका सांसद गगनकुमार थापा (जो अहिले अध्ययनका लागि अमेरिका छन्)ले मेलम्ची प्रकरणबारे सोधे । मन्त्री मगरले मेलम्ची जसरी पनि आउने जवाफ दिँदै मन्त्रालयमा भएका सरुवा नियमित प्रक्रियामात्र भएको ‘सफेद झूठ’ बोलिन् । उनले यसो भन्नुअघि नै सीएमसीसँग काम गराउनका लागि मन्त्री मगरको कदमबारे कडा टिप्पणी गर्दै सचिव ठाकुरले भनेका थिए,‘मन्त्रीले मुलुक डुबाउन लागिन्, मैले जोगाएँ ।’ यो भनाभन मेलम्ची प्रकरणमा मन्त्री र सचिवको ‘इन्ट्रेस्ट’ बाझेका कारण थियो ।