मूर्तिको बक्षस्थलमा बेरियो सुनौलो कपडा

प्रकाशित मिति:

जकार्ता – इण्डोनेशियाको एक पार्कमा पूर्वीय मूल्य र मान्यतालाई जोगाउने भन्दै निर्वस्त्र रुपमा रहेका मूर्तिको बक्षस्थललाई कपडाले ढाकिएको छ । राजधानी जकार्ताको एंकल ड्रिमल्याण्डमा दुईवटा जलपरीको मूर्ति राखिएको छ । यी मूर्ति त्यहाँ पछिल्लो १५ वर्षदेखि रहेका छन् । अब भने ती मूर्तिको बक्षस्थलमा सुनौलो रंगको कपडा बेरिएको अवस्थामा देख्न सकिन्छ ।

यसो गरिएकोमा शहरका थुप्रै मान्छेले अनौठो मानेका छन् । उनीहरुले पार्कका अधिकारीहरुलाई यसो गर्नकालागि माथिल्लो तहबाट बाध्य पारिएको हो कि भन्ने आशंका समेत गरेका छन् । यद्यपि पार्कको प्रशासनले यो कुरा अस्वीकार गरेको छ । पार्क प्रशासनले गएको वर्ष नै मूर्तिको बक्षस्थल ढाक्ने निर्णय गरिएको जनाएको छ । पार्कका प्रवक्ता रिका लेस्तरीले बीबीसीलाई भनिन्,‘‘यो कुनै बाहिरी दबाबमा गरिएको होइन ।” उनले पार्क परिवारलाई भ्रमण गर्नका लागि अनुकूल बनाउन यसो गरिएको बताए । त्यहाँ बक्षस्थल देखाएको अवस्था बनाइएका मूर्ति जलपरीका हुन् । ती मूर्ति बनाउने मूर्तिकार डोलोरोसा सिनागाले बीबीसीसँग भनेका छन्, “पार्क प्रशासनको निर्णयले कलालाई उसको सुन्दरताबाट बन्चित गर्ने काम भएको छ ।’’